योग दिवसको पूर्वसन्ध्यामा प्रभातफेरी

पोखरा, ६ असार/चौथो अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा पोखरामा प्रभातफेरी निकालिएको छ । वर्षेनी कार्यक्रम गर्दै आएको पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन प्रभातफेरी निकालेको हो । संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णय गरेको थियो ।

बुधबार बिहान नवअधिकार चोक चिप्लेढुंगादेखि सुरु भएको प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिएको थियो । मंगलबार पत्रकार भेटघाट आयोजना गरी योगको महत्वका बारेमा प्रवचनका साथै त्रिदिवसीय कार्यक्रम सार्वजनिक गरिएको थियो ।

समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा विहीबार बिहान हुने योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको जनाए । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुनेछ । स्थान उपलब्ध भएसम्म सबै निःशुल्क रुपमा सहभागी हुनेछन् । योग कक्षामा सहभागी हुन चकटीको व्यवस्था सहभागी आफैले गर्नुपर्ने योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले जनाईन् ।

समितिका सचिव विश्वमणि तिवारीले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैमा अनुरोध गरिएको छ ।

कमेन्टहरु
Loading...