समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

पोखरा, २१ फागुन /गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसंगतीको अन्त्य गर्दै मुलुकलाई समृद्धि बनाउन युवा वर्गको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
शिवरात्री पर्वको अवसरमा अरुणोदय युथ क्लव पोखरा ७ द्धारा आज आयोजित छैटौ महाशिवरात्री घारीपाटन साँझको उद्घाटन गर्दै उहाँले शिवरात्री कुलत, हिंसा र अहंकार रहितको पर्वकोरुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।

जनअपेक्षा अनुरुप गरिने गतिविधिले संघीय व्यवस्था वलियो हुने बताउँदै उहाँले त्यसका लागि तीनवटै सरकार जिम्मेवार भएर विकास निर्माणमा जुट्नु पर्नेमा जोड दिनभयो । कार्यक्रममा समाजका जेष्ठनागरिक ९६ बर्षीय हस्तबहादुर घले र ९६ बर्षीय बलमाया गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने नृत्य प्रशिक्षकव्दय प्रकृति गुरुङ र रोहिवी राई गुरुङलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रमा दुवै मृगौला फेल भई उपचाररत १८ बर्षीय मञ्जील गुरुङलाई क्लवकोतर्पmबाट १४ हजार ८ सय ४० आर्थिक सहयोग गरिएको क्लवका सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र बरालले घारीपाटन क्षेत्रलाई आगामी तीन बर्षभित्र धुँले माटो रहित बनाउने प्रतिवद्धता व्यक्त गर्दै विकास निर्माण वडावासीको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महानगर सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले क्लवले गर्ने प्रत्येक गतिविधिले युवावर्गलाई कुलतमा लाग्नबाट जोगाउँ सहयोग पुग्ने उल्लेख गर्नुभयो । क्लवका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगर न्यायिक समितिका सदस्य किशोर बराल, नेका वडा सभापति नविन बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिलकुमार शाही, क्लवका उपाध्यक्ष घनश्याम लामिछाने लगायतले कला, संस्कृतिको जगेर्ना गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।

कमेन्टहरु
Loading...