मर्दिखोला खानेपानी ठेक्काविरुद्ध परमादेश जारी

पोखरा, २९ भदौ/मर्दीखोला खानेपानी आयोजनालाई प्रत्यक्ष असर पर्ने गरी जिल्ला विकास समिति कास्कीद्वारा आह्वान गरिएको ठेक्का प्रक्रिया अन्ततः रद्ध भएको छ । जिविस कास्कीले गत जेठ १६ गते पोखरेलीको मुख्य खानेपानी मुहान मर्दीखोलामा प्रत्यक्ष असर पर्ने गरी गरेको ठेक्का आह्वानविरुद्ध परेको रिटमा पुनरावेदन अदालत पोखराले उत्प्रेषणको आदेशद्धारा ठेक्का प्रक्रिया बदर गरी परमादेश समेत जारी गरेको छ ।

उक्त अदालतका न्यायाधीश सत्यराज गुरुङ र भीमकुमार ओझाको संयुक्त इजलासले आदेश जारी गरेको हो । उक्त रिट निवेदन अधिवक्ता सुनिल गौतमले गत असारमा पुनरावेदन अदालत पोखरामा जिविस कास्की, पोखरा उपमहानगरपालिका र खानेपानी संस्थान पोखरालाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

उक्त रिटमा निवेदनमा अधिवक्ता सुनिल गौतम, अधिवक्ता मेघमणि पौडेल, अधिवक्ता जनकल्याण पराजुली र अधिवक्ता शुकदेव गौतमले बहस गरेका थिए । आदेश जारी भएपछि जिविस कास्कीले आह्वान गरेको ठेक्का प्रक्रिया अब पूर्णरुपमा रद्ध हुनुका साथै उक्त खानेपानी आयोजनाको मुहान मर्दीमा कुनै पनि तवरबाट प्रदूषण हुने गरी ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने भएको छ ।

पोखराको करिब ९० प्रतिशत आपूर्तिको स्रोत रहेको मर्दीखोलामा विगतदेखि उक्त क्षेत्रमा अनेक प्रकारले खानेपानीको स्रोत प्रदूषण गरिएकोमा रिट जारीपछि शुद्ध खानेपानी पाउने भएपछि पोेखरेली खुसी भएका छन् । सो खानेपानी मुहान सफा, पानी शुद्ध हुने विश्वास पोखरेली उपभोक्ताले गरेका छन् । उक्त रिट दायर गर्नुअघि सो जिविसको ठेक्काविरुद्ध विभिन्न संघसंस्था, नागरिकसमाजले विरोध गर्दा पनि अटेर भएपछि न्यायको ढोका घच्घच्याउन अधिवक्ता गौतमले रिट निवेदन दायर गरेका थिए ।

कमेन्टहरु
Loading...