पोखरामा पर्यटक बसका चालक र सहचालकलाई तालिम

पोखरा, १३ असार /नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पर्यटन यातायात समिति, पोखराको आयोजनामा बिहीबार पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवम् सहचालकलाई तालिम दिइएको छ ।

पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवम् सहचालक हुने भएकोले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारी लगायतका विषयमा प्रशिक्षण दिइएको समितिका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए ।

उनका अनुसार पर्यटन यातायात समिति, पोखरामा चार सय ५० वटा पर्यटक बस र एक सय २८ जना व्यवसायी आवद्ध छन् । नेपालको पर्यटकीय विकासमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहे पनि त्यसको उचित मूल्याङकन हुन नसकेको उनले बताए ।

आगामी दिनमा राज्यले लिनुपर्ने यातायात नीति सम्बन्धमा सरकारले यातायात सम्बद्ध संघ संस्थासँग छलफल एवम् अन्तरक्रिया गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि लामिछानेले पर्यटकका लागि आउँदा जाँदा पहिलो वा अन्तिम सम्पर्क व्यक्ति चालक, सहचालक हुने भएकोले उनीहरूको व्यहारले घुम्ने स्थानका सम्बन्धमा पर्यटकले धारणा बनाउने बताए ।

चालक सहचालकलाई पर्यटनको अबैतनिक राजदुतका रुपमा चित्रित गर्दै उनले उनीहरूको व्यवहार एवम् बोलिचालीले पर्यटकको बसाई लम्ब्याउने वा छोट्याउने कुरामा निर्भर गर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले चालक सहचालकको बोली एवम् व्यवहारले कुनै पनि पर्यटकीय स्थल एवम् समग्र राष्ट्रलाई प्रभाव पार्ने उल्लेख गरे । पर्यटकको बसाई अधिकतम लम्ब्याउने कुरामा चालक सहचालकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पर्यटक सवारी साधन चलाउँदै आएका एक सय ५६ जना चालक र सहचालक सहभागी प्रशिक्षणमा चार जना प्रशिक्षकले विभिन्न विषयमा जानकारी गराएको पर्यटन यातायात समिति, पोखराका महासचिव नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थललियाले अतिथि सत्कार, प्रहरी सहायक निरिक्षक लोकराज भण्डारीले ट्राफिक नियम, सिपर्दी टे«डिङ पोखराका इन्चार्ज सञ्जय विष्टले प्राविधिक विषय र डा. मुकेश मल्लिकले उच्च चापीय क्षेत्रमा अपनाउनुपर्ने स्वास्थ्य सजगता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कमेन्टहरु
Loading...