ट्होटें पर्व, प्राप्त उपलब्धि रक्षा गर्दै अघि बढौंःमुख्यमन्त्री गुरुङ

पोखरा, २८ चैत्र/प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि अघि बढ्नुपर्ने बताउनुभएको छ । तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट््होटें समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका उपलब्धिहरुलाई संस्थागत गर्दै राज्यको श्रोत साधन प्राप्तिसहित पहिचानजनित प्रदेश नामाकरणका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

आफु ककसको अध्यक्ष हुदा तमुवान प्रदेशमा सहमत हुन नसके पछि तमुवान गण्डक नामाकरणका लागि पहल गर्दा गर्दै पहिलो संविधानसभा विघटन गराइएको उहाँको भनाई थियो । सभ्यता, सँस्कृति, ऐतिहासिकताको सम्मान र विभेदमा पारिएकाहरुले समानताको महसुस गराउन तमुवान प्रदेश माग गरे पनि केवल जातियताका आँखाले व्याख्या गरे हामीले अरुलाई कन्भिन्स गर्न चुक्यौं अब प्रदेशको नामाकरण प्रदेशसभाको सर्वसम्मत वा दुई तिहाई बाट गरिने प्रावधान भएकाले नामाकरणका लागि प्रदेश संसदले समिति गठन गरी अघि बढेको उहाँले जानकारी दिनुभयो।तमुहरुले नै चाहे अनुसारको प्रदेशको नामाकरण हुन सक्ला नसक्ला तर पहिचानको सम्बोधन गरिनुपर्ने उहाँको भनाई थियो । जे नाम होला भोलि, काली गण्डकीदेखि बुढी गण्डकीसम्मको तमुवान नै भएको मुख्य मन्त्री गुरुङले भन्नुभयो ।

पोखरा १७ तमु ह्युलचोक विरौटाबाट मौलिक भेषभुषा, बाजागाजा, झाँकीसहित शुरु भएको ट्होटें र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालमा पुगी समारोहमा परिणत भएको थियो । र्यालीको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वर्तमान वरिष्ट उपाध्यक्ष नन्दजंग गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरुले धुप हाली शुभारम्भ गरिएको थियो ।

र्यालीमा आयोजित प्रतियोगितामा चिउली पार्चे तमु समाज प्रथम हुदै १५ हजार रुपैया, ट्रफीसहित पुरस्कृत भयो भने फूलबारी तमु समाज समाज दोश्रो हुदै १० हजार नगद, ट्रफी, तेश्रो घोषित सिमपानी तमु समाजले ५ हजार नगदसहित ट्रफी, प्रमाणपत्रले पुरस्कृत बन्यो । यसरी नै बगर तमु समाज, सोपाल तमु समाज, कोल्माबहाकोट तमु समाज सान्त्वना हुदै तीन तीन हजारसहित पुरस्कृत भयो भने युवा सहभागीतामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज र घाँटु प्रस्तुति गरेको आँधीखोला तमु समाज पनि तीन तीन हजार रुपैया सहित पुरस्कृत बन्यो। र्यालीको नतिजा मुल्यांकन समितिका संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले घोषणा गर्नुभएको थियो ।

ट्होटे र्याली मुल्यांकन समिति तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी गुरुङको संयोजकत्वमा सल्लाहकार डा.दीर्घमान गुरुङ, कोषाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र सँस्कृतिकर्मी श्रीजंग गुरुङ निर्णायक रहनुभएको थियो । कार्यक्रमका तमु विद्यार्थी समितिले वार्षिक वितरण गर्दै आएको सुनिल स्मृति छात्रवृत्ति पृथ्वीनारायण क्याम्पसकी सकिला गुरुङ र मेरी गोल्डकी प्रियंका गुरुङलाइ वितरण गरिएको थियो ।

यसरी नै तमु मै ताँ कार्यक्रम निरन्तरताका लागि १० हजार मनांग गुम्बाका लागि २५ हजार रुपैया तमु धिं नेपालले सहयोग हस्तान्तरण गरेको थियो । कार्यक्रमका विभिन्न समाज र कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत साँस्कृतिक संयोजक मेनकाजी गुरुङ र संचालन महासचिव गिरीप्रसाद गुरुङ र सचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो । ट्होटे र्यालीमा तमु धिं नेपालका क्षेत्रीय समाजहरु लगायत पहिलो पटक तमु धिं युके र विभिन्न समाज संघ संस्थाको बृहत सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...