तमुवान संयुक्त संघर्ष समितिले असोज ३ गते कालो झण्डा प्रर्दशन गर्ने

पोखरा, २८ भदौं/प्रतिगामी संविधान जारी गरिएको दिन असोज ३ गते तमुवान संयुक्त संघर्ष समितिले पोखरामा कालो झण्डा प्रदर्शन गर्ने भएको छ । संघीय गठबन्धनको एक मोर्चामा आवद्ध तमुवान संयुक्त संघर्ष समितिले गठबन्धनको कार्यक्रम अनुसार कालो दिवसका रुपमा असोज ३ गते तमुवानको राजधानी पोखरामा कालो झण्डा प्रदर्शन गर्ने भएको हो ।

तमुवान संयुक्त संघर्ष समितिको मंगलवार पोखरामा सम्पन्न बैठकले असोज ३ गते पोखरा नयाँबजारस्थित तमु धिं नेपाल अगाडिबाट कालो झण्डासहित विरोध र्याली निकाली महेन्द्रपुल भिमसेनचोकमा पुगी कोणसभामा परिणत हुने कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमका तयारीका लागि असोज २ गते प्रचार प्रसार गर्ने र असोज ३ गते बेलुका साढे ७ बजेदेखि आधा घण्टा ब्ल्याक आउट गर्ने संघीय गठबन्धनको कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

प्रतिगामी संविधान तत्काल पुर्नलेखन वा संशोधन गरी विगतदेखि विभेद सहदै आएका समुदायको पहिचान, अधिकार, समानुपातिक प्रतिनीधित्व, पहुँच सुनिश्चित गराउन माग सहित हुने प्रदर्शनमा सहभागीताका लागि संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले आग्रह गर्नुभएको छ ।

यसैविच तमुवान संयुक्त संघर्ष समितिले पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनको निर्वाचनमा पहिचानको आन्दोलनमा सकरात्मक, सबृद्ध पोखरा निर्माणको नेतृत्व गर्न क्षमतावान, समावेशी मुल्यमान्यतालाई आत्मसाथ गर्ने उम्मेदवारहरुलाई जिताउन पहल गर्ने निर्णय गरेको छ ।

विगतका वर्षहरुमा पोखरा उद्योग वाणिज्य संघको नेतृत्व आदिवासी जनजातिका आन्दोलन, तमुवान संयुक्त संघर्ष समितिको अधिकार प्राप्तिका आन्दोलनका विरुद्ध प्रतिकारकै शैलीमा सडकमा उत्रने गरेकाले संघको निर्वाचनमा त्यस प्रवृतिका उम्मेदवारलाई पहिचान गरी आदिवासी जनजाति, तमुवानको अधिकार प्राप्तिको आन्दोलनमा सकरात्मक उम्मेदवारलाई जिताउन पहल गर्ने निर्णय गरेको तमुवान संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...