सूर्यमणि स्मृति पुरस्कारबाट डा. जगमान सम्मानित

पोखरा, ७ मंसिर/ प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान, पोखराले संस्कृति तथा इतिहासविद् डा. जगमान गुरुङलाई यस वर्षको सूर्यमणि स्मृति पुरस्कारबाट सम्मान गरेको छ ।

प्रतिष्ठानले प्राडा सूर्यमणि अधिकारीको ७१ औं जन्मजयन्ती अवसरमा पोखरामा शुक्रबार आयोजना गरेको समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका डा. गुरुङलाई ५१ हजार रुपैयाँ, दोसल्ल्ला र सम्मानपत्र प्रदान गरेका हुन् ।

सो क्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान गठनको लागि विधेयक तयार हुँदै गरेको जानकारी दिए । गण्डकी प्रदेश कला, संस्कृतिको धनी प्रदेश रहेको उल्लेख गर्दै उनले यसको संरक्षण, प्रवद्र्धनको लागि प्रदेश सरकार लागिपरेको बताए । साथै उनले सम्मानित व्यक्ति डा. जगमान गुरुङलाई प्रतिष्ठानले पुरस्कृत गरेकोमा बधाई दिँदै उनलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए ।

सम्मानित व्यक्तित्व डा. जगमान गुरुङले कुनै पनि देशको पहिचान भनेको सो देशको कला संस्कृतिलाई कति महत्व दिइएको भन्नेमा निर्भर हुने बताए । उनले इतिहास राष्ट्रको पहिचान भएको उल्लेख गर्दै इतिहास भुल्न नहुने बताए ।

कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले सम्मानित प्रतिभाको बारेमा परिचय दिएका थिए । प्रतिष्ठान संरक्षक कपिलनाथ कोइरालाले प्रतिष्ठानको गतिविधिबारे बोल्दै स्व. सूर्यमणि अधिकारीको योगदानलाई चिरस्थायी बनाउन १५ लाख अक्षयकोष राखेर गत वर्ष प्रतिष्ठान गठन गरिएको जानकारी दिए ।

चितवन जिल्लामै पहिलो पटक विद्यावारिधि हासिल गरेका प्राडा सूर्यमणिको निधन २०६३ सालमा भएको थियोे । उनका इतिहास, संस्कृति, भाषा साहित्य लगायत क्षेत्रमा २ दर्जन बढी पुस्तक प्रकाशित छन् । कार्यक्रममा संरक्षक कपिलनाथ कोइरालाले इतिहास, भाषा संस्कृति लगायत क्षेत्रमा वर्षेनी पुरस्कार प्रदान गरिने सो पुरस्कार स्थापना गरिएको बताए ।

प्रतिष्ठानले यो सहित अझै २ पुरस्कार घोषणा गर्ने उनले जनाए ।
प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान सचिव सहायक प्राध्यापक महेश अधिकारीले पनि बोलेका थिए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष प्राडा देवीप्रसाद कँडेल र संचालन कोषाध्यक्ष सहप्राध्यापक बाबुराम अधिकारीले गरेका थिए । प्रतिष्ठान अध्यक्ष इन्दिरा स्व. सूर्यमणिकी सुपुत्री हुन् ।

चार दशकदेखि अनवरतरुपमा नेपाली संस्कार र संस्कृतिको उन्नयनमा साधनारत रहेकोमा कास्कीको याङ्जाकोटका डा. जगमान गुरुङको कार्यको उच्च मूल्यांकन गर्दै गठित प्रतिभा छनोट समितिले उनलाई पुरस्कारको लागि सिफारिस गरेको हो । प्रतिष्ठान सदस्य प्राडा दिलबहादुर क्षत्रीको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति सदस्यमा कोषाध्यक्ष सहप्राध्यापक डा बाबुराम अधिकारी र सहप्राध्यापक महेश अधिकारी रहेका थिए ।

कमेन्टहरु
Loading...