प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानद्वारा १५ लाखको अक्षयकोष स्थापना

पोखरा, १८ फागुन/पोखरामा शनिबार प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान स्थापनाको घोषणा गरिएको छ । प्रतिष्ठानले १५ लाख रुपैयाँ अक्षयकोष स्थापना गरी ‘सूर्यमणि स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’ घोषणासमेत गरेको छ ।

प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ र प्रमाणपत्र रहने प्रतिष्ठान संरक्षक कपिलनाथ कोइरालाले जानकारी दिए । चितवन जिल्लामै पहिलो पटक विद्यावारिधि प्राप्त प्राडा सूर्यमणि अधिकारीको स्मृतिमा गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रतिष्ठान दर्ता गरिएको हो ।

निजकी छोरी इन्दिरा अधिकारी कोइराला अध्यक्ष रहेको प्रतिष्ठानको केन्द्रीय कार्यालय पोखरामा रहने र सूर्यमणिको कर्मक्षेत्र चितवन रहेकोले मुख्य शाखा कार्यालय चितवनमै रहने जनाइएको छ ।

सो अवसरमा कोषाध्यक्ष डा. बाबुराम अधिकारीले प्रतिभा छनोट समितिको आधार, छनोट क्षेत्र र विधाबारे जानकारी दिँदै इतिहास, धर्मसंस्कृति, भाषासाहित्यमध्ये कुनै एक विधामा राष्ट्रिय रुपमा योगदान दिने व्यक्तिलाई पुरस्कार दिइने जानकारी दिए । पहिलो पुरस्कारको घोषणा अर्को महिनामै हुने उनले बताए ।

त्यसका लागि प्रतिष्ठान सदस्य प्राडा दिलबहादुर क्षेत्री संयोजक रहेको प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यमा डा. बाबुराम अधिकारी र सहप्राध्यापक महेश अधिकारी छन् । सो समितिमा २ सदस्य पछि थप हुनेछ ।

कार्यक्रममा सदस्य प्राडा ईश्वरीराज लौडारीले प्रतिष्ठान स्थापनाको उद्देश्य र भावी कार्यक्रमबारे जानकारी दिए । प्रतिभा छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षेत्रीले बिना आग्रहपूर्वाग्रह राजनीतिक गन्ध नदिने गरी उपयुक्त प्रतिभा छनोट गरिने बताए ।

कार्यक्रममा सदस्य डा नारायण अधिकारी, वेदनिधि अर्याल र संरक्षक कपिलनाथ कोइरालालगायते बोलेका थिए । प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्राडा देवीप्रसाद कँडेल र संचालन वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक रहेका प्रतिष्ठान सचिव महेश अधिकारीले गरेका थिए ।

११ सदस्यीय प्रतिष्ठान उपाध्यक्षमा देवीप्रसाद कँडेल, सचिव सहप्राध्यापक महेश अधिकारी, कोषाध्यक्ष डा बाबुराम अधिकारी, सदस्य प्राडा दिलबहादुर क्षेत्री, प्राडा ईश्वरीराज लौडारी, पत्रकार रमेश पौडेल, विश्व हिन्दु महासंघ कास्की अध्यक्ष शंकर खराल,उपप्राध्यापक वेदनिधि अर्याल र डा. उत्सव अधिकारी र पोयुसापका पूर्व अध्यक्ष सुरेश रानाभाट छन् ।

प्राडा सूर्यमणि अधिकारीको २०६३ जेठ २ मा ५८ वर्षको उमेरमा निधन भएको थियो । उनका ३ छोरा प्रमोद, कल्याण र मदन अधिकारी अमेरिका बस्छन् ।

कमेन्टहरु
Loading...