सिल्दुजुरेबासीलाई राजु परियारले नचाए

धनुबास कालिका माविको ५२ औं वार्षिकोत्सव सम्पन्न
पोखरा, २९ माघ/धनुबास कालिका मावि, सिल्दुजुरे–८, छाचोक, कास्कीको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार विद्यालय प्रा·णमा आयोजित कार्यक्रममा २०६९ सालको प्रवेशिका परीक्षा उत्तीर्ण, विभिन्न कक्षागत तह उत्तीर्णलाई सम्मान गरियो । साथै, कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)द्वारा सञ्चालित संरक्षण शिक्षा लिइरहेका विद्यार्थी, विद्यालयद्वारा आयोजित विभिन्न अन्तर सदनात्मक अतिरिक्त क्रियाकलापहरूका विजयीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।सो अवसरमा बोल्दै उच्च माध्यमिक शिक्षा परिषद्, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका प्रमुख रमेश अधिकारीले बालबालिकालाई अभिभावकले विद्यालय पठाएर मात्र आफ्नो दायित्व पूरा भएको सम्झन नहुने उल्लेख गर्नुभयो । ‘बालबालिकालाई अभिभावकले स्कूल पठाएर मात्र दायित्व पूरा हुँदैन’, अधिकारीले भन्नुभयो, ‘आफ्ना बालबच्चाले राम्ररी पढेको छ कि छैन भन्ने ख्याल पनि अभिभावकले राख्नुपर्दछ ।’
सफल नागरिक बन्नका लागि शिक्षाले नै असल गोरेटो देखाउने भन्दै अधिकारीले विद्यालयले आफ्ना विद्यार्थीलाई असल गोरेटो देखाउन सधैं अग्रसर रहनुपर्ने बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्ध रहने उल्लेख गर्दै उहाँले विद्यालयको अझै प्रगतिको कामना समेत गर्नुभयो ।

जिल्ला शिक्षा कार्यालय, कास्की सोंधा स्रोत केन्द्रका स्रोत व्यक्ति तुलसीप्रसाद गौतमले विद्यालयको शैक्षिक वातावरण राम्रो भएकोमा प्रशंसा गर्दै आफ्नो तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व जिविस उपसभापति गंगाबहादुर गुरुङ, काहुँखोला–सिक्लेस–दूधपोखरी ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष एवं समाजसेवी रूद्रबहादुर गुरुङ, विद्यालयका संस्थापक ले. होमबहादुर गुरुङ, धनुबास कालिका प्राविका प्रधानाध्यापक हरिप्रसाद बराल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष झलक सापकोटा, गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक टंकनाथ बरालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सव कार्यक्रमकै अवसरमा लोक तथा दोहोरी गीतका बादशाहका रूपमा चिरपरिचित लोकगायक राजु परियारले सबै सिल्दुजुरेबासीलाई आफ्ना नयाँ तथा पूराना गीतद्वारा भरपूर मनोरञ्जन दिलाए । लोकगायक राजु परियारको उपस्थितिले कार्यक्रममा बेग्लै रौनकता छाएको थियो । लोकगायक राजु परियारले ‘शिक्षा नै संसार हो’ भन्दै गीत प्रस्तुत गरिरहँदा कार्यक्रमका अतिथि, शिक्षक, अभिभावक, विद्यार्थी सबै छमछमी नाचे । सो अवसरमा राजु परियारले ‘कोदो रोप्दा लाएको पिरती’, ‘सुनपानीले छर्क मायालु’, ‘जानेलाई जान देऊ माया’, ‘झिमझिम सानु नझिम्काउ परेली’लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा गुरुङ चलचित्रका महानायकका रूपमा चर्चित एवं लोकप्रिय हुन सफल ताराबहादुर गुरुङले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, गायक तथा संगीतकार जयकुमारले पनि आफ्नो चर्चित गीत ‘मैले लाने तिम्लाई, डोलीमा सजाई’ बोलको गीत गाएर कार्यक्रममा उपस्थितलाई नचाएका थिए । कार्यक्रममा कलाकारहरू गायक सुनिल गायक, सुजन गुरुङ, गायिका प्रभा गुरुङलगायतले आफ्ना गीत तथा हास्य प्रहसन प्रस्तुत गरी कार्यक्रमका सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।

कमेन्टहरु
Loading...