पोखरामा सीमा सुरक्षाका लागि नागरिक दबाब

पोखरा, २५ पुस / भारतीय पक्षले सीमा अतिक्रमण गरी भारतीय सेना राखेको नेपाली भूमि फर्काउन सरकारलाई दबाब दिन पोखराबाट नागरिक अभियान सुरु भएको छ ।

सीमा सुरक्षाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउन ‘सीमा बचाऔं अभियान’ ले पुस २७ गते पोखरामा दबाब जुलुस निकाल्ने भएको छ ।

‘नेपालका विभिन्न भूभाग दार्चुलाको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूमिमा भारतीय सरकारले सेना तैनाथ गरी कब्जामा लिएको छ । यो गतिविधिले देशभक्त स्वाधीन र स्वाभिमानी नागरिकको शीर झुकेको छ । हाम्रो छाती दुखेको छ,’ अभियानका संयोजक रामबहादुर पौडेलले भने, ‘यो हाम्रो अखण्ड भूभाग हो । त्यसका ठोस प्रमाण हुँदा हुँदै पनि कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकार उदासीन भयो । वक्तव्यबाजीले मात्रै सीमा फिर्ता हुँदैन ।’

दबाबमूलक कार्यक्रमबारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारले पहल गरिरहेको बताउदै दबाब मुलक कार्यक्रम आवश्यक रहेको बताए ।

कमेन्टहरु
Loading...