सिक्लेस–कोरी केबलकारमा लगानी गर्न चिनियाँ कम्पनी इच्छुक

पोखरा, २ असार /कास्कीको मादी गाउँपालिकाको पर्यटकीय गाउँ सिक्लेसदेखि अन्नपूर्ण हिमशृंखलाको कोरीसम्म केबलकार चलाउन सम्भव देखिए पछि लगानीका लागि चिनियाँ कम्पनी इच्छुक देखिएको छ । मादी गाउँपालिकाले केबुलकार सञ्चालन गर्न ल्याएको योजना सम्भव हुने अध्ययनले देखाए पछि चिनियाँ कम्पनीले त्यस क्षेत्रको अवलोकन समेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले ल्याएको योजना मुताबिक गाउँपालिकाले क्युबिक इन्जिनियरिङ कन्सल्टेन्सीलाई केबलकार सञ्चालन प्रारम्भिक अध्ययनको जिम्मा दिएको थियो । केबलकार सञ्चालन सबै हिसाबले उपयुक्त र सम्भव रहेको ३ महिना लगाएर प्राविधिकले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

केबुलकार सञ्चालन गर्न १ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको इन्जनियरिङ कन्सल्टेन्सीका निर्देशक इन्जिनियर दण्डराज पौडेलले बताए । केबलकार साढे ६ किलोमिटर दुरीको हुनेछ । प्रति केबुलकार ६ जना क्षमताको हुनेछ । प्रतिघन्टा ३ सय जनाले यात्रा गर्न सक्नेछन् । प्रतिदिन १२ सय जनासम्म यात्रु आउ–जाउ गर्न सक्ने अनुमानित प्रतिवेदनले देखाएको छ ।

कोरीसम्म केबलकार पु¥याउन ५ प्रकारका २१ वटा केबल टावर राख्न सकिने अध्ययनले देखाएको छ । केबलकारबाट ३६ करोड रुपैयाँ वार्षिक रुपमा आम्दानी गर्न सकिने छ भने १० करोड खर्चमा जाने अनुमान गरिएको छ । केबलकार सञ्चालनमा आएको साढे ५ वर्षभित्रैमा सबै लगानी उठाउन सकिने अध्ययनले देखाएको छ ।

‘हामीले त्यहाँको जिओलोजिकल, मेकानिकल लगायतको प्राविधिक अध्ययन गरेर एउटा अनुमानित प्रतिवेदन तयार पा¥यौं,’ पौडेलले भने, ‘अब विज्ञ टोली झिकाएर बिस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्छ । नेपालका सबैजसो केबलकारको बिस्तृत सम्भाव्यता अध्ययन विदेशबाट झिकाएर गरिएको छ ।’

गाउँपालिकाले केबरकार निर्माण गर्ने योजना अघि सारेपछि चिनियाँ कम्पनीसमेत लगानी गर्न इच्छुक देखिएको छ । एक चिनियाँ कम्पनीको टोलीले स्थलगत अध्ययनसमेत गरेकोे गाउँपालिका अध्यक्ष वेदबहादुरले बताए ।

कमेन्टहरु
Loading...