शिवालय माविमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

पोखरा, २० फागुन /कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाइ गरिएको छ ।कक्षा ११ को आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले अध्ययनलाई मूल कर्तव्य सम्झेर कर्म गर्न आग्रह गरे । उनले विद्यालयका लागि सबैभन्दा खुसीको कुरा नै विद्यार्थीहरुको सफलता हुने धारणा राखे ।

विद्यालयले नयाँ संस्कारको निर्माण गर्दै विद्यार्थीकेन्द्रित गतिविधिमा जोड दिएको भन्दै प्राचार्य प्रभावीले समयअनुकूल शैक्षणिक पद्धतिमा अघि बढ्ने प्रयासमा आफू लागिपरेको बताए ।कक्षा ११ की छात्रा सुजता सी. के.को अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका बिना तिमल्सेना, शिक्षक किशोर भुजेल, कक्षा ११ की छात्रा रिया गुरुङ, १२ की छात्रा विद्या सुवेदीलगायतले बिदाइ तथा शुभकामना मन्तव्य राखेका थिए ।

कक्षा ११ की छात्रा अस्मिता नेपालीको सञ्चालनमा भएको कार्यक्रममा रुपा थापा मगर, सजिना गुरुङ, नवराज गुरुङ, विवेक गुरुङ, सोनिया नेपालीलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बिदाइ भएर जाने कक्षा १२ का विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले मायाको चिनो प्रदान गरेका थिए भने विद्यालयका प्रचार्य प्रभावीले विद्यालयका तर्फबाट खादा लगाइदिएका थिए ।राष्ट्रिय परीक्षा बोर्डले आगामी २०७६ वैशाख १५ बाट सञ्चालन गर्ने परीक्षामा शिवालयबाट यस वर्ष १२ जना विद्यार्थी सहभागी हुँदै छन् ।

कमेन्टहरु
Loading...