माघको पहिलो साता स्याङ्जाको मोचाबारीमा सप्ताह ज्ञान महायज्ञ

पोखरा, २५ पुस/ स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं २ मोचाबारीमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५ आयोजना हुने भएको छ । बि.सं. २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक बिद्यालयले आगामी माघ ३ देखी ११ गते सम्म प्राबिधिक शिक्षा (वागवाणी बिज्ञान) सञ्चालनार्थ ज्ञान महायज्ञ आयोजना गर्न लागेको पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

उक्त ज्ञान महायज्ञमा कथा शिरोमणी पण्डित श्री दिपक प्रसाद पौडेलको संगितमय कथा प्रबचन रहने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक तिल बहादुर गुरुङले बताए । उनले जनजातिको बाहुल्यता रहेको सो क्षेत्रमा मातृभाषाको संबद्र्धनका लागि बिद्यालयमा मातृभाषा तथा प्राबिधिक शिक्षा (वागवाण्ी बिज्ञान) सञ्चालनार्थ उक्त सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको जानकारी दिए ।

त्यस्तै बिद्यालयका प्राध्यानाध्यापक रामचन्द्र शर्माले बिरुवा गाउँपालिका क्षेत्र कृषिको प्रचुर सम्भावना रहेकोले उक्त बिद्याालयमा कृषि शिक्षालाई समेत प्राथमिकतामा राखेर योजना सहित अगाडी बढेको बताए । बिशेषगरी सो क्षेत्रमा सुन्तला लगायतको खेती उल्लेख्य मात्रामा हुने बताउदै आधुनिक किसिमको कृषि शिक्षाको अवधारणा सहित ज्ञान महायज्ञ आयोजना गर्न गैरहेको उल्लेख गरे ।

शर्माले मातृभाषा, स्वधर्म तथा संस्कृति, रीतिरिवाज प्रति आस्था दृढ बनाउन, धार्मिक तथा साँस्कृतिक उत्सबलाई उत्साहपूर्वक मनाउन तथा नयाँ पुस्तालाई ऐतिहासिक महत्व बुझाउन, लोभ, भय तथा आदिका भरमा चलेको बिधर्मीको षडयन्त्रबाट गाउँ, टोल, छरछिमेकलाई सचेत पार्ने समेत सो ज्ञान महायज्ञको उद्देश्य रहेको बताए ।

उनका अनुसार माघ ४ गते परिक्षित र कली संवाद तथा सतीदेवी र महादेव चरित्र, माघ ५ गते धुर्व र जड भरत तथा रहुगण संवाद चरित्र, माघ ६ गते प्रल्हाद एवं वली र वामन चरित्र, माघ ७ गते राम, सीता र लक्ष्मण संवाद, माघ ८ गते कृष्ण जन्मोत्सव, कृष्ण वाललिला, कृष्ण र रुक्मिणी बिवाह, माघ ९ गते कंशवध चरित्र साथै सुदामा चरित्र झाँकी प्रस्तुत र अन्तिम दिन बांकी कथा प्रसगं र जनचेतनामुलक नाटक प्रस्तुति गरिनेछ । करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको सो सप्ताह ज्ञान महायज्ञमा तुलादान गर्ने र कर्ता बन्ने व्यस्था समेत रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...