सरसफाइमा अब्बल भुमे स्कुललाई कोरियाली सम्मान

पोखरा, २२ पुष/ कास्कीको उत्तर पश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भुमे आधारभूत विद्यालयललाई सरसफाइमा अब्बल काम गरेवापत कोरियाको बुद्धिष्ट इन्भारोमेण्टल सोलिडारिटीले नगद ५ सय डलर र कदरपत्रसहित सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घप्रसाद शेरचन र प्रधानाध्यापक तेजप्रसाद शर्मालाई कोरियन प्रोफेसनल आट्रिष्ट एशोसिएसनका अध्यक्ष किम मिनडो र प्राध्यापक लि जोङ केले कदरपत्र र नगद प्रदान गरेका थिए ।

किम मिनडोले कोरियादेखि नेपालसम्म आएर विद्यालयमै सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले विद्यार्थीलाई ‘सपना देख र असल मान्छे बन्न संघर्ष गरिराख’ भने । पढ्नु लेख्नुसँगै अतिरिक्त क्रियाकलापमा हिमालयक्षेत्र र समुदाय सरसफाइका लागि विद्यार्थीले खेलेको भूमिका प्रशसनीय भएकाले विद्यार्थीको काम विश्वस्तरमै छनौटमा परेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घप्रसाद शेरचनले गाउँको पुरानो स्कुल चलाउन सकस भइरहेको बेला विदेशीले सहयो गर्दा र स्कुल अन्तर्राष्ट्रिय स्तरमा छनौट हुँदा खुशी लागेको बताए । प्रधानाध्यापक तेजप्रसाद शर्माले विद्यार्थीको कामले अभिभावक र समुदायलाई नै प्रभाव पारेको हुँदा प्राप्त सहयोगबाट विद्यालय परिसरमा बगैंचा र चौतारी बनाउने जनाए ।

कोरियाली कला शिक्षक कु ह्याङ किमले अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका विद्यार्थीले बनाएका चित्रकला सिओलमा प्रदर्शन गर्नका लागि कोरियन प्रोफेसनल आट्रिष्ट एशोसिएसन र अन्नपूर्ण ड्रोइङ ड्रिम टिमबिच संझौता गरेका छन् ।

२०२४ सालमा स्थापित सुदामेको भुमे आधारभूत विद्यालय अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गमा पर्छ । ७५ जना विद्यार्थीले पानीको बोटलभित्र प्लाष्टिक र फोहरमैला संकलन गरी फोहर व्यवस्थापनको नमुना योग्य काम गरेका थिए । गतवर्ष संरक्षण शिक्षा अधिकृत श्याम गुरुङले प्लाष्टिकजन्य फोहर संकलन गरी व्यवस्थापन गर्ने तालिम दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घप्रसाद शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक तेजप्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए भने शिक्षिक चित्रकुमारी आलेले कार्यक्रम सञ्चालन गरेको थिइन ।

कमेन्टहरु
Loading...