पोखरा १३ भद्रकाली मावि अगाडी ट्राफिक लाइट र वडामा दृष्टिविहीनमैत्री बाटो

पोखरा, ११ बैशाख /पोखरा महानगरपालिका १३ ले मंगलबार देखि ट्राफिक लाइट सुरु गरेको छ । पोखरा १३ मा रहेको भद्रकाली मावि अगाडि रहेको ट्राफिक लाइट पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।

विद्यालय सञ्चालन हुदाँ विद्यार्थीको उच्च चाप रहेको र उनीहरुलाई सुरक्षित तरिकाले सडकमा यात्रा गर्न सिकाउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको वडाध्यक्ष दर्शन लामाले बताए । उनले सोलार लाइट जडान गरि ट्राफिक लाइट जडान गर्न १ लाख ६३ हजार रुपैयाँ खर्च भएको बताए ।

विद्यालयमा माध्यामिक तहमा २७ सय र क्याम्पसतर्फ गरी ३२ सय विद्यार्थी अध्ययनरत छन् ।
ट्राफिक लाइट विद्यार्थीले वारपार गर्दा बटन थिचे रातो बत्ती बल्ने र उनीहरुले बाटो काटिसकेपछि निश्चित समयपछि आफैं बन्द हुनेछ । लामाले अर्को विद्यालय अगाडी पनि राख्ने तयारी रहेको बताए ।

त्यसै गरी मंगलबार नै वडा नम्बर १३ ले दृष्टिविहीनमैत्री बाटोको पनि जिसीले उद्घाटन गरेका छन् । उनले आन्तरिक राजश्व कार्यालयमा कर अधिकृतका रुपमा कार्यरत विजय लामिछानेलाई छडी दिँदै बाटोको उद्घाटन गरेका हुन् ।

वडाले आफ्नो क्षेत्रभित्र वडा कार्यालयदेखि भद्रकाली स्कुलसम्म ३ सय मिटर दृष्टिविहीनमैत्री बाटो बनाएको हो । ८ लाख ५५ हजार रुपैयाँ लगानीमा बनेको बाटोमा सर्वसाधारण र अपांगहरु पनि सजिलै हिँड्न सक्ने वडाध्यक्ष दर्शन लामाले दाबी गरे ।

कमेन्टहरु
Loading...