भारतीय माक्र्सवादी चिन्तकहरु पोखरामा

पोखरा, २० चैत /भारतका प्रसिद्ध माक्र्सवादी चिन्तकहरु शशिप्रकाश, सत्यम र कात्यायनी मङ्गलबार पोखरामा आयोजित अन्तरक्रियामा सहभागी भएका छन् । घनश्याम ढकाल स्मृति कक्षमा पोखराका प्रगतिशील लेखकहरुसँग भएको अन्तरक्रियामा भारतका राजनीतिकर्मी तथा माक्र्सवादी चिन्तक शशिप्रकाशले भारतमा माक्र्सवादी कला, साहित्य र राजनीतिक क्षेत्रमा भएका विकासका बारेमा प्रकाश पार्नुभयो ।

उहाँले भारतीय माक्र्सवादीहरु योजनाबद्ध रुपमा अघि बढेको जानकारी दिनुभयो । नेपालमा पनि माक्र्सवादलाई स्थापित गराउन योजना बनाएर अघि बढ्न उहाँको सुझाव थियो । ‘वामपन्थी आन्दोलनमा भारतीय माक्र्सवादीहरु प्रतिबद्ध भएर लागेका छन्’, उहाँले भन्नुभयो, ‘साहित्य, कला र मिडिया आन्दोलनका लागि महत्वपूर्ण हतियारहरु हुन्, यिनीहरुलाई नयाँ ढङ्गले प्रयोग गर्नु जरुरी छ ।’ उहाँले नेपालको वाम गठबन्धन अवसरवादको नमुना भएको धारणा राख्नुभयो । वाम गठबन्धन संशोधनवादमा प्रवेश गरेको भन्दै उहाँले माक्र्सवादको विसर्जनको बाटोमा गठबन्धन लागेको टिप्पणीसमेत गर्नुभयो ।

कवि तथा माक्र्सवादी चिन्तक कात्यायनीले भारतमा महिला लेखिकाहरुको स्तर अझै उठ्न नसकेको जनाउनुभयो । अझै पनि लैङ्गिकताका सवालमा महिला लेखकहरुको लेखन अल्झिइरहेको भन्दै उहाँले पहिचावादी लेखन पनि अघि बढेको बताउनुभयो । अर्का लेखक तथा पत्रकार सत्यमले पोखराका माक्र्सवादी लेखकहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

साहित्यकार राजेन्द्र पौडेलको संयोजनमा भएको कार्यक्रममा गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले पोखराको प्रगतिवादी लेखन र साहित्यिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा परशुराम कोइराला, भीम रानाभाट, सुरज उपाध्याय, कल्पना चिलुवाल, नारायण मरासिनीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...