शान्ति उदयमा विद्यार्थीका लागि निःशुल्क बस सञ्चालनमा

पोखरा, १० बैशाख / पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर पाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याइएको छ ।

कास्की दक्षिण भेगकै पुरानो यस विद्यालयमा आउने विद्यार्थीको सहजतालाई लक्षित गरी यसै शैक्षिक वर्षदेखि स्कुल बस सञ्चालनमा ल्याइएको प्रधानाध्यापक टेकनारायण गिरीले जानकारी दिए ।

विद्यालयमा विद्यार्थीका लागि निशुल्क बसको व्यवस्थाका साथै इन्टरनेट सहित कम्प्युटर र विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार कक्षा तीन सम्मका विद्यार्थीका लागि निशुल्क खाजाको व्यवस्थाका साथै सुविधा सम्पन्न ई लाइब्रेरीको व्यवस्था गरिएको छ ।

विद्यालयले कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, नियमित सह–कृयाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, पर्याप्त खेलमैदान आदिको व्यवस्था गरेको छ ।

कास्की दक्षिणभेगकै शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको यस विद्यालयको गरिमा र महत्वलाई आत्मसात गर्दै पूर्वाधार विकासका साथै शिक्षाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले बताए ।

“विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका साथै आवश्यक भौतिक पूर्वाधार विकास समेतलाई हामीले प्राथमिकतामा राखेका छौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आचार्यले थपे, “विद्यालयको ऐतिहासिकता एवम् यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा खेलेको अतुलनीय भूमिकालाई दृष्टिगत गर्दै यसलाई आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।”

कास्की दक्षिण भेगमा छ दशक अघि यस क्षेत्रका दूरदर्शी शिक्षाप्रेमीको सकृयतामा वि.सं २०१६ सालमा कैलास प्रा. वि.को नामबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो । वि.सं. २०२४ सालदेखि शान्ति उदय मा.वि.का नाममा सञ्चालन भएको विद्यालयमा २०६५ सालदेखि कक्षा ११ र १२ को कक्षा समेत सञ्चालन हुँदै आएका छन् ।

शान्ति उदय मा.वि.बाट उत्पादित जनशक्ति देशको समाजिक, आर्थिक एवम् राजनीतिक लगायतका क्षेत्रमा उच्च ओहोदामा पुगिसकेका छन् । यही विद्यालयमा अध्ययन गरी पूर्व पर्यटन मन्त्री स्व.रविन्द्र अधिकारीदेखि विभिन्न उच्च प्रशासनिक निकायमा यहाँको जनशक्ति पुगिसकेका छन् ।

विद्यार्थी तथा अभिभावकको आकर्षण अभिबृद्धि गर्न यस शैक्षिक वर्षमा शान्ति उदयमा भर्ना हुने सम्पूर्ण विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्चका तर्फबाट ट्रयाकसुट उपलब्ध गराइने भएको मञ्चका अध्यक्ष मोति भुजेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...