शान्ति गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कार

पोखरा, ५ असोज /पत्रकार एवं उद्यमी मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शान्ति गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पत्रकार महासंघ कास्कीले शान्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

शान्ति गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कार
शान्ति गुरुङ

बरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा पत्रकार पुण्य पौडेल र राजबहादुर गुरुङ सदस्य थिए । समितिमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेल पदेन सदस्य थिए । छनौट समितिको सोमबार बसेको बैठकको सिफारिसलाई मंगलबार पत्रकार महासंघ कास्कीको बैठकले अनुमोदन गरेको थियो ।

दुई दशकदेखि निरन्तर संचार क्षेत्रमा क्रियाशील शान्ति गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराकी समाचार सम्पादक हुन् । तमु सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष, तमु प्ये ल्हु संघ केन्द्रीय सचिव समेत रहेकी गुरुङले यसअघि कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार पाइसकेकी छन् । संचारकर्मी गुरुङले २०५२ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेकी थिइन् । उनी गायिका पनि हुन् ।

पत्रकार एवं व्यवसायी मीना गुरुङले पत्रकारिता प्रवद्र्धनको उद्देश्य सहित २ लाख रुपैयाँको पुरस्कार अक्षयकोष स्थापना गरेकी थिइन् । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । उक्त पुरस्कार मीना गुरुङको जन्मदिन असोज १२ गते प्रदान गरिने छ । यस अघि उक्त पुरस्कारबाट पत्रकार दुर्गा भण्डारी र दीपक परियार सम्मानित भइसकेका छन् ।

कमेन्टहरु
Loading...