सन्देश श्रेष्ठलाई पृथ्वी पत्रकारिता पुरस्कार

पोखरा, २५ साउन/पोखराका क्रियाशिल युवा पत्रकार सन्देश श्रेष्ठ पृथ्वी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने भएका छन् ।
पृथ्वी होटल ब्यबसायी समितिबाट संचालित उक्त पुरस्कार आन्तरिक पर्यटन प्रवद्र्धनमा पत्रकारिताको माध्यमबाट खेलेको भुमिकाको कदर गर्दै श्रेष्ठलाई अर्पण गर्न लागिएको हो ।

श्रेष्ठलाई समितिको यहि भदौ २ गते पोखरामा हुने अधिवेशनमा नगद ५ हजार ५ सय ५५, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकाश लम्शालले सम्मान गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष कमलप्रसाद न्यौपानले जानकारी दिए ।

जन्म घर झापा भई पोखरालाई विगत १५ बर्षदेखि कर्मथलो बनाई पत्रकारिता गर्दै आएका श्रेष्ठ रेडियो अन्नपुर्णको बरिष्ठ सम्बाददाता तथा समाचारवाचक र विगत ५ बर्षदेखि अनलाइनखबर डटकमका पोखरा सम्बाददाता छन् । श्रेष्ठ २०६९ सालमा अन्नपुर्ण एफएमको वेष्ट स्टार्फ अफ दी इयर अवार्डबाट पुरस्कृत भइसकेका छन् । सम्मानित हुने श्रेष्ठ प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्षसमेत रहेका छन् ।

पृथ्वी पत्रकारिता पुरस्कारबाट यसअघि रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेय र फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी पुरस्कृत भइसकेका छन् ।

कमेन्टहरु
Loading...