पत्रकार महिलाका लागि दुई दिने स्थलगत फोटो पत्रकारिता तालिम

पोखरा, १० असार /पोखराका क्रियाशिल पत्रकार महिलाहरुका लागि दुई दिने स्थलगत फोटो पत्रकारिता तालिम शनिवारदेखि शुरु भएको छ । सञ्चारिका समूह पश्चिमाञ्चलको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा कास्कीको पर्यटकिय स्थल धम्पुसमा तालिम सञ्चालन गरिएको हो ।

कास्कीका २७ जना पत्रकार महिला सहभागि तालिमको प्रशिक्षक फोटो जर्नालिस्ट तथा डकुमेन्ट्री मेकर देवकी विष्ट रहेकी छन् । “फोटो आफै बोल्छ” भन्ने भनाईलाई आत्मसात गर्दै अडियो, भिडियो र लेखले जस्तै एउटा फोटोले पनि व्यक्त गर्न खोजिएका भावहरु स्पष्ट बोलिदिने हुदा पत्रकार महिलाका लागि स्थलगत फोटो पत्रकारिता तालिम सञ्चालन गरिएको तालिम संयोजक तथा सञ्चारिका समूह पश्चिमाञ्चलका कोषाध्यक्ष राधिका कंडेलले बताईन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले एक फोटोले हजार शब्द बोल्ने हुदा फोटो पत्रकारिता तालिम अवको बदलिदो समयमा पत्रकार महिलाका लागि अत्यावश्यक भएको बताईन् । साथै उनले पत्रकार महिलाका लागि आयोजना गरिएको तालिममा पत्रकार महिला नै प्रशिक्षक रहदा तालिम अझै फलदायी हुने विश्वास व्यक्त गरिन् ।

पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले पूर्ण पत्रकार बन्नका लागि फोटो पत्रकारिता पनि अत्यावश्क भएको बताईन् । उनले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघ कास्कीले पनि यस्ता खालका कार्यक्रम सञ्चालन गर्ने बताईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दुर्गा भण्डारी, खोज पत्रकारिता केन्द्रका केन्द्रिय सदस्य मिना शर्मा लगायतले बोलेका थिए ।  सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कविता श्रेष्ठले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...