बसन्त रुविना फाउन्डेसन द्धारा विद्यालयलाई आर्थिक सहयोग

पोखरा, ३ मंसिर/वसन्त रुविना फाउन्डेसनले पोखराको नौडाँडामा रहेको महेन्द्र आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच फाउन्डेसनका संरक्षक वसन्त थकाली, अध्यक्ष कृष्ण प्रसाद सुवेदी र कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले फाउन्डेसनको तर्फबाट नगद १० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो । उक्त अवसरमा फाउन्डेसनका कोषाध्यक्ष श्रेष्ठले आफ्नो व्यक्तिगत तर्फबाट २ हजार ४ सय ४ रुपैयाँ प्रदान गरे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य परियार र प्रधानाध्यापक ढकराज सुवेदीलेविद्यालयको तर्फबाट उक्त सहयोग रकम ग्रहण गरे ।

सहयोग रकम प्रदान गर्दै प्रतिष्ठानका संरक्षक वसन्त थकालीले आफूले क ख सिकेको विद्यालयमा आएर संस्थाको तर्फबाट सहयोग गर्न पाएको भन्दै विद्यालयको प्रगतिको कामना गरे । आगामि दिनमा पनि विद्यालयका लागि केही योगदान दिन आफूले चाहेको उनले बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्य परियारले संस्थाको तर्फबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे । वि.सं २०१६ सालमा स्थापित उक्त विद्यालयमा स्तरीय पढाई गर्नकै लागि अक्ष्यकोष स्थापना गरिएको र प्राप्त रकम त्यसैमा जम्मा गरिने उनले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक सढकराज सुवेदीले अक्षयकोषमा ५० लाख रुपैयाँ पु¥याउने र त्यसैको ब्याज मार्फत निजी स्रोतका शिक्षक राखेर विद्यालयको गुणस्तर कायम गर्ने बताए ।

तीन वर्ष अगाडि विद्यालयमा विद्यार्थी संख्या जम्मा ५ जनामा झरेपछि व्यवस्थापन समितिले घरदैलो नै गरेर विद्यालय जोगाउन अंग्रेजी माध्यमको शिक्षा दिन सुरु गरिएको उनले जानकारी दिए । अहिले विद्यालयमा विद्यार्थीको संख्या ९० पुगेको छ । अक्षयकोषमा ५ लाख रुपैयाँ जम्मा भएको र ३ लाख रुपैयाँ विभिन्न दाताले दिने प्रतिवद्धता जनाएका छन् । विद्यालयमा ४ जना शिक्षकको कोटा छ भने ३ जना निजी स्रोतबाट राखिएको छ । वसन्त रुविना फाउन्डेसनले यस अगाडि पनि विभिन्न विद्यालयमा यसरी आर्थिक तथा विभिन्न सहयोग गर्र्दै आएको छ ।

कमेन्टहरु
Loading...