शहीद ईश्वर गुरुङ स्मृती सर्वोकृष्ट छात्रवृत्ति पुरस्कार क्षेत्रीलाई

घान्द्रकु, ५ जेठ /शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित तथा नेपाली काँग्रेस घान्द्रुक इकाई समितिद्वारा सञ्चालित यसवर्षको सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फूम्रोखुँ वराह मा.वि. का छात्रा अमृता क्षेत्री सम्मानित भएकी छन् । उनी साविक घान्द्रुक गाविसका तीन मावि मध्येबाट २०७४ सालको एसईई परीक्षामा सर्वश्रेष्ठ भएवापत सो पुरस्कारबाट सम्मान गरिएको हो ।

उनी ३.४ जी.पी. अंकका साथ प्रथम भएकी थिइन् । पुरस्कारको राशी २५ हजार नगद र प्रशंसापत्र रहेको छ । यो पहिलो दोस्रो छात्रवृत्ति पुरस्कार हो । यसअघि मेश्रम वराह माविकी छात्रा रविना थापा सो पुरस्कारबाट सम्मानित भएकी थिइन । त्यसै गरी सोही समारोहमा शहीद ईश्वर गुरुङ छात्रवृत्रि पुरस्कारबाट श्री मेश्रम वराह मावि घान्द्रुकलाई सम्मान गरिएको छ । पुरस्कारको राशी नगद रु. ५० हजार र प्रशंसापत्र रहेको छ ।

विद्यालयले गुणस्तरीय शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेवापत सो पुरस्कारबाट सम्मान गरिएको हो । वि.स. २०६१ साल वैशाख २८ गते तत्कालीन ने.क.पा. माओवादीद्वारा हत्या गरिएका गुरुङलाई केही समयअघि नेपाल सरकारले शहीद घोषणा गरेको थियो । गुरुङको स्मृतिमा उनको परिवारले १० लाख ५५ हजारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति पुरस्कार सञ्चालन गर्न नेपाली काँग्रेस घान्द्रुक इकाई समितिलाई अख्तियारी दिएको थियो ।

यसैबीच १४ औं वार्षिक स्मृति दिवसको अवसर पारी शनिबार नेपाली काँग्रेस साविक घान्द्रुक गाउँ इकाइ समितिले ती दुवै पुरस्कार वितरण गरिएको हो । पुरस्कार वितरण गर्दै नेपाली काँग्रेसका नेता पूर्व कानून तथा संसदीय मामलामन्त्री यज्ञबहादुर थापाले लोकन्त्रतका योद्धाहरूको सम्मानमा स्थापना गरिएका कार्यहरू प्रशंसायोग्य भएको बताए । उनले आफू कानूनमन्त्री छदाँ शहीदको सूचीमा नपरेका शहीद हरिप्रसाद गुरुङसहितका योद्धाहरूलाई शहीदको सूचीमा दर्ज गर्न सफल भएको जानकारी दिए ।

पूर्वमन्त्री एवं शहीद परिवारका सदस्य प्रकाशबहादुर गुरुङले शहीद ईश्वर गुरुङ स्मृति प्रतिष्ठानले अबका दिनमा अन्य सामाजिक सेवामा समेत काम गर्ने योजना रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, महासमिति सदस्यद्वय दिपक गुरुङ र आइबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि गिरिराज गौतम, नेपाली काँग्रेस घान्द्रुक इकाई समितिका सभापति ललित गुरुङ, प्रतिष्ठानका संयोजक कप्तान पद्मलाल गुरुङ, समाजसेवी तिलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, सहदेव गुरुङ लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...