सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा दीप प्रज्वलन

पोखरा, ४ मंसिर /सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृती दिवसका अवसरमा पोखराको मानवअधिकार चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ । संयुक्त राष्ट्रसघंको आह्वानमा हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस संसारभरी नै मनाउने गरिएको छ ।

नेपालमा नासा फाउण्डेसनको समन्वयमा विभिन्न सहरहरुमा मनाउने क्रममा पोखरामा पनि एचिभर्स जर्नीको आयोजना तथा महिला उद्यमी संघ कास्की लगायत विभिन्न संघसंस्थाको सहभागितामा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा सडक दुर्घटनामा दिवंगत भएका आत्माहरुको स्मरणमा चिरशान्तीको कामना गर्दै दीप प्रज्वलन गर्नुका साथै सडक दुर्घटनामा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो । कार्यक्रममा दुर्घटना न्युनिकरणको प्रतिबद्धताका लागि सहभागीहरुले ब्यानरमा हस्ताक्षर समेत गरेका थिए ।

एक तथ्यांक अनुसार हरेक वर्ष संसारभर ५० लाख मानिसहरु दुर्घटनामा गम्भिर घाइते हुने र करिब १३ लाख मानिसहरुले ज्यान जाने गर्दछ । नेपालमा पनि विभिन्न कारणले गर्दा सवारी दुर्घटना बढीरहेको र सोका कारणले गर्दा हजारौ मानिसहरु त्यसको सिकार बन्ने गरेका र करिब वर्षेनी २५०० मानिसहरुले ज्यान गुमाइरहेका छन, जसमा २५ देखी ४९ वर्ष उमेर समुहका युवाहरु धेरै रहेका छन ।

यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघले सन् २०११ देखी २०२० सम्मलाई सडक सुरक्षा दशकको रुपमा मनाइरहेको नासा फाउण्डेशन कास्कीका कोषाध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए । यो अवधिमा सडक दुर्घटनाबाट मृत्यु र घाइतेको संख्या आधा कम गर्ने लक्ष्य लिइएको पनि उनले बताए ।

कार्यक्रममा फाउण्डेसनका सदस्य जय थापा, महिला उद्यमी संघ कास्कीका अध्यक्ष काशी गुरुङ्ग, शिक्षाकर्मी रेशमराज शर्मा, सरोज कुवँर, स्वास्थकर्मी सन्तोष पण्डित लगायतले आफ्नो धारणा राखेका थिए । एचिभर्स जर्नीका प्रबन्धक निर्देशक प्रतिभा गैह्रेको संयोजनमा भएको कार्यक्रमको सञ्चालन एनएलपी कोच सुवास पौडेलले गरेका थियो ।

कमेन्टहरु
Loading...