सभामुख र स्विडिस साँसदबीच भेट

पोखरा, ७ फागुन/चार नम्बर प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र स्विडेनका साँसदबीच सोमवार संसद भवनमा भेटघाट भएको छ । भेटका क्रममा स्विडेनका साँसदहरुले अधिकारीलाई चार नम्बर प्रदेश सभाको सभामुखमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका थिए ।

भेटका क्रममा उनीहरुले यहाँको राजनीतिक, सामाजिक, आर्थिक, युवा तथा महिला एवम गैरसरकारी क्षेत्रमा देखिएका समस्यालाई प्रदेश सरकार र संसदले कसरी संबोधन गर्ला ? भन्ने जिज्ञासा राखेका थिए । साँसदहरुको जिज्ञासामा सभामुख अधिकारीले देशले भर्खरै राजनीतिक संक्रमणबाट मुक्ति पाउँदै संघीय संरचनामा गएको भन्दै संविधान कार्यान्वयनको क्रममा नेपालको बहुभाषा, बहुसँस्कृति, बहुधार्मिक प्रकृतिको सामाजिक संरचनाको हित हुने गरी संबोधन हुने बताउनुभयो ।

केन्द्रीकृत शासन प्रणालीबाट देश संघीयतामा गएको अवस्थामा जनतासँग प्रत्यक्ष सम्पर्क हुने गरी तीन तहको संविधानमा व्यवस्था गरिएको भन्दै अधिकारीले केन्द्र, प्रदेश र स्थानीय तहमार्फत जनतासँग निरन्तर अन्तरक्रिया हुने गरी काम भईरहेको जानकारी गराउनुभएको थियो ।

अहिलेको अवस्थामा जनताले सरकारसँग धेरै अपेक्षा गरेको भन्दै अधिकारीले जनताको अपेक्षा अनुसारका कानूनहरु निर्माण गरेर जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी सम्बृद्धि हासिल गर्नुपर्ने अहिलेको कार्यभार रहेको बताउनुभयो ।

देश र प्रदेशको सम्बृद्धिको लागि मित्रराष्ट्रहरुको अनुभवबाट सिक्दै आफ्नै भिन्न खाले विशिष्ठताहरुबाट सिक्दै अगाडी बढिने जानकारी साँसदहरुको टोलीलाई उहाँले गराउनुभएको थियो । पुर्वाधार निर्माण र आर्थिक समस्या चुनौतीको रुपमा रहेको बताउँदै उहाँले त्यसलाई सबै राजनीतिक पार्टी र अन्य सरोकारवालाहरु मिलेर समाधान गर्ने उहाँले बताउनुभयो ।

राज्यको नीति निर्माण गर्ने तहमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेर राजनीतिक पार्टीले महिला सहभागिता र शसक्तिकरणमा उल्लेख्य प्रगति गरेको उहाँले बताउनुभयो । देशको सम्बृद्धिको लागि एउटा कार्यकालको लागि सदनमा सम्मानजनक बहुमत रहेको जानकारी गराउँदै उहाँले यही बहुमतको आधारमा जनताको मन जितेर सम्बृद्धि हासिल गर्ने उहाँको भनाई थियो । सँयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको निमन्त्रणामा छ सदस्यीय स्विडिस साँसदहरुको टोली यहाँ आएको हो ।

कमेन्टहरु
Loading...