रुपा गाउँपालिकामा २० शैयाको क्वारेन्टाइन, १३ जना पहिलो दिनमै क्वारेन्टाइनमा

पोखरा, ११ चैत / रुपा गाउँपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ।

गाउँपालिकाले आफ्नो इलाका भित्रका बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट क्षमता भएको क्वारेन्टाइन निर्माण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

जसमा विदेशबाट फर्किएका नागरिकहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउने र संक्रमित भइहालेमा थप संक्रमण फैलिन नदिने गाउँपालिकाको तयारी छ । जसमा क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्रि वाईफाई, शुद्ध पिउँने पानी र टेलिभिजन जडान गरिएको छ भने खानपान र औषधी उपचारको व्यवस्था पनि गाउँपालिका आफैँले गर्ने छ।

रुपा गाउँपालिका ५ देउरालीमा रहेको विश्वशान्ति माध्यामिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बस्न पहिलो दिनमै १३ जना गाउँपालिकावासी आइपुगेका छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा भारत, साउदी, दुबई, मलेसिया, कतार लगाएतका देशबाट फर्किएका नागरिक रहेको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए

अध्यक्ष ओझाका अनुसार, गाउँपालिकामा रहेका ५ वटै स्वास्थ्य चौकीहरु अब २४ सै घण्टा खुल्ला हुनेछन् । जहाँ पर्याप्त मात्रामा ओषधीहरु राखिएका छन् भने गाउँबासीलाई निशुल्क रुपमा स्वास्थ्य चौकी आउन र थप उपचारकालागि अन्य अस्पताल लानुपर्ने भएमा पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ ।

कमेन्टहरु
Loading...