बालकृष्ण ‘उग्रतारा’ स्मृति पत्रकारिता पुरस्कार थापालाई

पोखरा, २८ असार /पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनको परिवारद्धारा स्थापित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार रुद्रबहादुर थापा सम्मानित हुने भएका छन् ।

तिलक पराजुलीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले सिफारिस गरे बमोजिम पत्रकार थापालाई सम्मानित गर्न लागिएको सो पत्रिकाका प्रधान सम्पादक जमुना बर्षा शर्माले जानकारी दिएकी छन् । वि.सं. २०४३ सालबाट अवलोकन दैनिकमार्फत पत्रकारिता शुरु गरेका थापा हाल पोखराबाट प्रकाशित हुने आर्दशसमाज दैनिकमा सह–सम्पादकको रूपमा कार्यरत छन् ।

रुद्रबहादुर थापा
रुद्रबहादुर थापा

पुरस्कार कम्तिमा पश्चिमाञ्चलमा १५ वर्ष पत्रकारिता गरेकालाई प्रदान गर्ने गरिएको छ । यस अघि उक्त पुरस्काबाट पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी र नारायण कार्की सम्मानीत भैसकेका छन् ।

पोखरा एक्सप्रेस पत्रिकाले संचालन गर्दै आएको उक्त पुरस्कारको रु दुई लाख एक हजार एक सय एघार अक्षयकोष तथा रु बीस हजार एक सय एघार नगद राशी सहित सम्मानपत्र र दोसल्ला रहेको छ । पुरस्कार प्रत्येक वर्ष उग्रताराको वार्षिक स्मृति दिवस साउन २० गते प्रदान गरिने जनाइएको छ ।

कमेन्टहरु
Loading...