स्थानीय तह पुर्नसंरचनाको खाका नआउदा निर्वाचनको काममा अप्ठ्रो

कास्कीमा २३ दल, २ लाख २५ हजार मतदाता

सागर राज तिमिल्सिना
पोखरा, २० फागुन /सरकारले स्थानीय तह पुर्नसंरचनामाको अन्तिम खाका नदिदाँ निर्वाचन कार्यालयलाई स्थानीय निर्वाचनको तयारी गर्न अप्ठ्रो परेको बताएका छन् । स्थानीय तहको निर्वाचन कति गाउँ पालिका हुने कति नगरपालिका हुने भन्ने खाका नआउदा काम गर्न अप्ठेरो परेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले बताए ।

‘छोटो समय छ, तयारी गर्नु पर्ने धेरै छ,’ उनले भने, ‘तर कुन जिल्लामा कति वटा गाउँ पालिका हुने कति नगर पालिका हुने पुर्न संरचना नआउदा काम गर्न अप्ठेरो भएको छ ।’ उनले पुरानै संरचना र जिल्लाले पुर्नसंरचना आयोगमा पठाएको खाकालाई आधार मानेर काम गरिरहेको बताए । पार्टिका जिल्ला स्थतरका नेताहरु बोलाएर छलफल समेत गरेको बताए ।

कार्यालयमा कास्कीका २३ दल दर्ता भएका छन् । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको भए पनि यस पटक २३ दल दर्ता भएको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए ।
उनले अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार्यालयमा दर्ता नभएको बताए ।

कास्कीमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय शिव सेना, नेपाल परिवार दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।

यस्तै, नेकपा संयुक्त, युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेस लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त समाज, अखण्ड नेपाल पार्टी, नेकपा माले (जन- समाजवादी) पार्टी पनि निर्वाचन कार्यालयमा दर्ता भएको उनले बताए ।

प्रमुख सुबेदीले कास्की जिल्लामा २ लाख २५ हजार ६ सय ९५ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको जानकारी दिए । त्यसमा पुरुषको भन्दा महिला मतदाताको संख्या बढि रहेको छ । महिला १ लाख २० हजार ६ सय ६६, पुरुष १ लाख ४ हजार ९ सय २४ र तेस्रो लिङ्गी ५ जना रहेका उनले जानकारी दिए ।

यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा कास्की जिल्लामा १ लाख ७ हजार ३ सय १९ महिला, ९० हजार ३ सय ३४ पुरुष र ५ तेस्रोलिङ्गि गरी कुल १ लाख ९७ हजार ६ सय ६८ मतदाता थिए । अघिल्लो निर्वाचनमा भन्दा सय पटक २८ हजार बढि देखिन्छ । अघिल्लो निर्वाचनमा १ सय ४७ स्थलमा २ सय ९२ केन्द्रमा मतदान भएको उनले बताए । अहिले मतदाता र स्थानिय निकाय पुनसंरचनाका कारण मतदान स्थल र केन्द्र थपघट हुनसक्ने बताए । कास्कीमा स्थानिय निकाय पुनसंरचनाको आधारमा १ महानगरपालिका र ४ गाउँपालिका रहेका छन् ।

वैशाख ३१ गते हुने स्थानीय चुनावमा सात जनालाई भोट दिनुपर्छ । गाउँपालिकामा हो भने अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई मत दिन पाईन्छ भने यस्तै नगरपालिकामा हकमा पनि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई भोट दिनुपर्छ ।

कमेन्टहरु
Loading...