पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेको बयान भएन, हिरासतमै रहने

चितवन, ८ भदौ/ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका प्रस्तोता रवि लामिछानेको बयान सोमबार भोलि मात्रै हुने भएको छ ।

आइतबार अभियुक्त अस्मिता कार्की (रुकु)को मात्रै बयान सकिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

रवि र अर्का अभियुक्त युवराज कँडेलको सोमबार बयान हुने गिरीले बताए । बयान नसकिएकालाई आज हिरासतमै राख्न अदालतले आदेश दिएको छ ।

यसअघि प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवानाको सजाय माग गर्दै मुद्दा दर्ता गरेका थिए । बयान पश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ । बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ ।

पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

कमेन्टहरु
Loading...