प्रदेशसभामा सांसद बरालको मागः मर्दीको खानेपानी मुहान ३ किमी माथि लैजाऔँ

पोखरा, १० असोज / गण्डकी प्रदेशसभाको आजको बैठकको विशेष समयमा कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ वाट निर्वाचित सांसद रामजीप्रसाद बरालले पोखरामा आपूर्ति हुने मर्दी खोलाको खानेपानी मुहान तीन किमी माथि सार्न माग गरेका छन् ।

हाल मुहान रहेको स्थानमा पानी ल्याउन बाँधिएको बाँधले स्थानीयको हजारौँ रोपनी जमीन बगरमा परिणत भएको र खोराकोमुख, आनन्दठाँटी तथा भेँडाबारी लगायतको बस्ती डुवानको जोखिममा रहेकाले बाँध माथि सार्न सांसद बरालले सरकारको ध्यानाकर्षण गराए ।

पोखरेलीको खानेपानीको प्रमुख स्रोतको रुपमा रहेको मर्दीखोला हो । खोलाबाट ल्याइएको पानी ९० प्रतिशत जनताको घरमा आपूर्ति हुँदै आएको छ ।  खानेपानी शुद्धताका लागि समेत मुहान माथि सार्नु अत्यावश्यक रहेको भनाइ सांसद बरालको छ । बस्तीभन्दा माथिको क्षेत्रबाट बाँध बनाएर पानी ल्याउदा पानी प्रदुषित नहुने भएकाले पनि स्वच्छ पानी आपूर्तिका हुने भनाई उनको छ ।

बिहीबारको बैठकमा सांसद बरालले व्यक्त गरेको भनाई ।

सभामुख महोदय,
गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटनको हव बनाउने भनिएको छ । यस ठाउँ पोखरेलीबासी जनताले पर्याप्त पानी प्राप्त गर्न सकेका छैनन् भने अर्कातिर धारामा धमिलो पानी आउने हुनाले हैरान परेका छन् । भनिन्छ, झन्डै ८० देखी ९० प्रतिशत रोग सफा र शुद्ध पानी नहुँदा लाग्ने गर्दछ ।
जे होस् ढिलै भएपनि जापानको सहयोगमा पानी शुद्धीकरणको प्रक्रिया अगाडी बढेको छ ।

नेपाल सरकार र जापान सरकारलाई धन्यबाद छ । हाल पोखरा खानेपानीको मुहान जुन ठाउँमा छ त्यसको वरिपरि ठूलो बस्तीको बीचमा पर्दछ । इदी र मर्दी यसका स्रोत हुन् ।यी दुबै स्रोत माछापुच्छ«े गाउँपालिकामा पर्दछन् ।

इदी र मर्दीले बगाइ ल्याएको गिटी बालुवा, ढुँङ्गा चलाउन छुन समेत खानेपानी संस्थानले दिँदैन । जसका कारण पानीको सतह माथि माथि आएको छ । ठूलो बाढी आउँदा मानव बस्ती र खेतीयोग्य जमीन बगरमा परिणत हुने जोखिम बढेको छ । वर्षायाममा स्थानीय त्रासमा बाँच्नुपर्ने अवस्था छ ।

हालको पानीको मुहान जुन ठाउँमा छ उक्त स्थानबाट करीब तीन किलोमिटर मर्दी र इदी खोलाको सिर तिर पोखरा खानेपानीको मुहान सार्न गण्डकी प्रदेश सरकार मार्फत सम्वन्धित सबैमा जोडदार माग गर्दछु । यसो गर्दा बस्तीभन्दा माथि मुहान हुने भएकाले पोखरामा आपूर्ति हुने पानी समेत स्वच्छ हुनेछ । माछापुच्छ«े गाउँपालिकाले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन । आफ्नो पालिकाको महत्वपूर्ण सम्पत्ति गिटी, ढुङ्गा छुनपनि नपाइने अवस्थाको अविलम्व अन्त्य गरिदिन समेत सरकारसँग विशेष अपिल गर्दछु ।

चाडपर्वहरु शुरु हुन लागेका छन् एकातिर भने अर्कोतिर आन्तरिक पर्यटकहरु भित्राउने अभियानको शुभारम्भ पनि आजै भएको छ । शहरभित्रको बाटो फाटेर ठुला ठुला खाल्डा परेका छन् । खाल्डामा पानी भरिएको छ । देखीने खाल्डा छल्छुभन्दा ठोकिने डर, दुर्घटनाको समेत सम्भावना बढेर गएको छ । बाटोमा हिँडिरहेका मानिसहरुलाई हिलो धमिलो पानीले छेप्ने हुँदा आक्रोस पनि पोखिने गरेको छ । तीन तहका सरकार छन् भन्छन्, कर बढेको छ । कहाँ छन् ती सरकार, अनि के गरेका छन् जनप्रतिनिधि भनेर नागरिकले आक्रोश पोखेको सुन्दा मन चसक्क हुँदो रहेछ सरकार ।

२०१९ लाई आन्तरिक पर्यटन वर्षको बाँकी समय करिव तीन महिना छ । पोखरा आउने पर्यटक फेवाताल जालान् जिरो देखी पश्चिम खाल्टै खाल्टा छन्, महेन्द्रगुफा ट्राउट माछा फार्म जालान् दिप भन्दा माथि खाल्डै खाल्डा, तालैतालको खानी लेखनाथ जाँदा अम्मरसिँहचोकमै खाल्डा छन् । गप्तेश्वर जाँदा छोरपाटन विरौटा त्यस्तै छ । यसस्तो अवस्थालाई प्रदेश सरकार महानगरको सहकार्यमा विशेष योजना बनाई रातारात १५ देखी २० दिनमा काम सम्पन्न गर्न सबैलाई परिचालन गराउन विशेष अनुरोध गर्दछु ।

कमेन्टहरु
Loading...