विकास निर्माणमा अधिकारीको योगदानको स्मरण

पोखरा, १९ फागुन / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा संगठन कमिटि पोखरा महानगरपालिका वडा नं ३३ ले हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य युवराज पौडेलले विकास प्रेमी नेताका रुपमा अधिकारीको स्मरण गर्दै उहाँको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले अधिकारीको पहलमा वडा भित्र धेरै योजना अघि बढीरहेको बताउँदै ती योजनालाई समन्वयात्मक रुपमा अघि बढाउँदै सम्पन्न गरिने बताउनुभयो ।

विकासमा यो वा त्यो नभनी सबैलाई मिलाएर लैजान सक्ने क्षमता अधिकारीमा रहेको उल्लेख गर्दै आचार्यले कुशल संगठक, मिलनसारिता जस्ता उहाँमा रहेका धेरै गुण प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा वडा संगठन पार्टी कमिटिका संयोजक गुरुप्रसाद क्रान्तिकारी, सह संयोजक गोपाल पुन लगायतले विकास प्रेमी नेता अधिकारीको निधनले राष्ट्रलाई ठूलो क्षति पु¥याएको बताउँदै उहाँका मार्गदर्शनलाई प्रेरणाका रुपमा लिदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्व अधिकारी पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएको थियो ।

कमेन्टहरु
Loading...