अध्ययन नगरी पुरुषको बराबरी गर्न सक्नु हुन्नः मुख्य मन्त्री गुरुङ

श्याम राना
पोखरा, २३ साउन /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्ययन नगरी महिलाले पुरुषको बराबरी गर्न नसक्ने बताएका छन् । बुधबार पोखरामा आयोजित ‘स्थानीय सरकारमा महिला ः सञ्चार माध्ययसँगको सहकार्यमा दुई दिवसीय कार्यशाला’ बिषयक तालिमको उद्घाटन सत्रमा बोल्दै मन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

इतिहास पल्टाएर हेर्दा नेताको श्रीमति, छोराछोरी र आफन्तजन मात्र हुने गरेकोमा उनले आपत्ति जनाए । ‘तपाइहरु पनि नेता बन्न सक्नुहुन्छ,’ उनले भने, ‘त्यसका लागि आँट चाहिन्छ । अध्ययन चाहिन्छ ।’ महिलाहरु सक्षम बन्नका लागि हिरोइज्म देखाउनु आवश्यक रहेको उनको भनाई थियो ।

महिलाहरुलाई सक्षम बन्नका लागि वातावरण गरिदिनु पर्ने, त्यस्ता अवसरहरुको सिर्जना गरिदिनुपर्ने आफूहरुको दायित्व रहेने उनको भनाई थियो ।

महिलाहरुले चाँहे पनि जे पनि गर्न सक्ने उनले दाबि गरे । भ्रष्टाचार मुक्त समाज बन्नका लागि पनि महिला नै चाहिने उनले सुनाए । ‘तर अफसोच जहाँ पनि पुरुषको मात्र गन्ध भएकाले नियम, कानुन प्रभावकारी बन्न सकेको छैन,’ उनले भने ।
पुरुषहरुलाई रोएर भन्दा तर्कले जित्नु आवश्यक रहेको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताइन् । अधिकाशं महिलाहरु समस्याको समाधान गर्नुको सट्टा उल्टै रोएर बस्ने गरेकोमा उनले आपत्ति जनाइन ।

महिलाहरुलाई सक्षम बनाउन स्वरोजगार बनाउन जरुरी रहेको उनले प्रष्ट्याइन । ‘महिलाहरुको सक्षम बनाउन मानव संसाधन विकास गर्नु जरुरी छ,’ उनले भनिन्, ‘त्यसका लागि महिला मैत्री कानुन बनाउनु पर्छ, पाएको अधिकार उपयोग गर्ने क्षमता बृद्धि गर्नु पर्छ, महिलामाथि हुने विभेदको अन्त्य गर्नु पर्छ ।’

कस्तुरीले आफ्नो पेटको बासना थाहा नपाए जस्तै महिलाहरुले पनि आफ्नो क्षमता थाहा नपाएको गण्डकी प्रदेशका सांसद राजिब पहारीले बताए । सक्षम बन्नका लागि सर्वप्रथम आफ्नो शक्ति पहिचान गर्न आवश्यक रहेको उनकोे भनाई थियो ।

महिलाहरु सक्षम बन्न आँटका साथ अघि बढ्नु पर्ने पोखरा महानगरका प्रमुख मानबहादुर जि.सी.ले औँल्याए । पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले महिलाहरुले सञ्चारका क्षेत्रमा अगाडी रहेकोमा खुसि व्यक्त गरे ।  सञ्चारीका समुह नेपाल र अष्ट्रेलियन एआइडी को संयुक्त सहकार्यमा आयोजना गरिएको तालिम दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...