फुस्रेखोलामा निर्माणाधीन पुल लडकडाउनमा पनि निर्माण कार्य जारी

पोखरा, २५ वैशाख/ पोखराको फुस्रे खोलामा निर्माणाधीन पुलको काम लकडाउनमा पनि जारी रहेको छ । लकडाउनले सबै निर्माण कार्य ठप्प भइरहँदा पोखराको फुस्रे खोलामा निर्माधीन पुलको काम भने निर्बाध रुपमा निर्माण भइरहेको हो । पुलको विहीबार ढलान गरिएको छ ।

पुलमा ढलान भएसँगै पुल निर्माणको काम करीब ७५ प्रतिशत सम्पन्न भएको पुल निर्माण कम्पनी श्री गीता–सिम्रन जेभीले जनाएको छ । सम्झौता भए अनुरुप आगामी असार मसान्त भित्रै पुल निर्माण सम्पन्न हुने श्री गीता–सिम्रन जेभीका प्रोपाइटर बलबहादुर रानाले बताए ।

लकडाउनको आधारभूत नियमहरु पालना गरेर पुल निर्माणको काम भइरहेको उनले जानकारी दिए । २०७४ साल फागुन ७ गते शिलान्यास गरिएको सो पुल आगामी असार मशान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । गण्डकी प्रदेश सरकारको एकल लगानी २ करोड ९८ लाखमा निर्माण गरिन लागेको सो पुलको लम्बाई ३५ मिटर छ भने ८.४ मिटरको चौंडाई हुनेछ ।

जसमा दुबैतर्फ १.२ मिटरको फुटट्रयाक निर्माण हुने पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेशका ई.सुमन गिरीले जानकारी दिए । उनले पुल निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको बताए । गण्डकी प्रदेशको पहिलो शिलान्यास गरिएको यो पुल निर्माण सम्पन्न गर्नेपनि पहिलो हुने उनले बताए ।

यसैबीच, पुल निर्माणको विहीबार अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लकडाउन भन्दै अहिलेसम्म बसेपनि अब निर्माणको काम तिव्र रुपमा अघि बढ्ने बताए । उनले फुस्रेखोलामा निर्माण भइरहेको पुल यसको उदाहरण भएको बताए । विकासका काममा गति नबढाए यसले विकासलाई धेरै पर धकेल्छ,‘उनले भने,‘लकडाउन भनेर यत्तिकै बसेर मात्र हुँदैन ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले काम शुरु भइसकेको योजनाको काम रोकिए बर्खामा बगाउने भएकाले लकडाउनमा पनि कामलाई तिव्रता दिइएको बताए । उनले निर्माण सामग्री र सवारी पास उपलब्ध गराउनका लागि आफूले सहजीकरण गरेकालेपनि पुल निर्माणको काम सहज रुपमा भइरहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका अन्य योजनाहरु घान्द्रुकको बाटो , पोखरा २३को खहरे खोलामा पुल निर्माणलगायतका काम निर्वाध ढंगले अघि बढिरहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...