पोखरा विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप

पोखरा, १६ बैशाख /पोखरा विश्वविद्यालयमा दिनहुँजसो झडप हुन थालेको छ । क्याम्पस हाताभित्रै प्रहरी र विद्यार्थीबीच झडपको स्थिती सिर्जना भयो । झडपमा नेविसंघका नेता मुकेश महतोको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

क्याम्पसमा भएको अनियमितता र बेथिति विरुद्ध नेविसंघ सहित अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत सबै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलन गरेका हुन् । विद्यार्थीको माग पूरा नभएको भन्दै गएको फागुन ९ गतेदेखि हालसम्म सहज वातावरणमा पढाई समेत भएको छैन । त्यही तनावका कारण तीनपटक सम्म परीक्षा स्थगीत भएको छ ।

विश्वविद्यालयको विधानमै डि प्लस ल्याएका विद्यार्थीलाई भर्ना हुन नदिने नियम भएपनि आंगिक क्याम्पसहरुले आर्थिक चलखेलमा परेर डि प्लसका विद्यार्थीलाई भर्ना लिएको विद्यार्थी संगठनहरुको आरोप छ । उनीहरुले गलत बाटोबाट विद्यार्थी भर्ना गर्ने क्याम्पसलाई तत्काल कारबाही हुनुपर्ने माग गरेको छ ।

डि प्लस तर्फका विद्यार्थीहरुले चाहीँ आँफुहरुले पनि पढ्न पाउनुपर्ने भन्दै सर्बोच्च अदालतमा उजुरी गरे । अदालतले परीक्षामा सहभागी हुन दिने निर्णय सहितको फैसला सुनायो र उनीहरुले अहिले परीक्षामा छन् । विश्वविद्यालय अन्तरगतका ४२ वटा क्याम्पसमा डि प्लस ल्याएका विद्यार्थीलाई रजिस्ट्रेसन गरि परीक्षामा सहभागी गराएको छ । अदालतले पनि त्यसमा अवरोध गर्न नहुने फैसला गरेपछि विद्यार्थीले चाहीँ विश्व विद्यालयको नियममा टेकेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबारको परीक्षामा अन्यौलताले केही विद्यार्थीहरु परीक्षा दिनबाटै बञ्चित भए । ७ बजेबाट भनिएको परीक्षामा केही ढिलो आएको भन्दै स्नातक विपिएच तर्फका ४५ भन्दा बढी विद्यार्थीले परीक्षा दिन नपाएका बताईएको छ ।

सोमबार पनि विद्यार्थी संगठनहरुले आन्दोलन चाही गरिरहे । आन्दोलनमा सहभागी ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थी नेताहरु सुस्मा गौतम, विकास रानाभाट, फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, राधव तिमिल्सिना, मदन साउद, अशोक तिवारी, सरोज शाह, प्रविण ओझा, असिम पौडेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका विद्यार्थीहरु तत्काल रिहाई हुनुपर्ने नेविसंघले माग गरेको छ ।

परीक्षामा जाने विद्यार्थीलाई अवरोध गरेका कारण नियन्त्रणमा लिईएको कास्कीका एसपी ओम रानाले बताए । विद्यार्थीको मागप्रति क्याम्पस प्रशासन जिम्मेवार नभएका कारण समस्या चर्किएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । क्याम्पसका रजिष्ट्रार गोविन्द शर्माले अदालत र कार्यकारी परिषद्ले गरेको निर्णय अनुसार परीक्षा सञ्चालन गरेको बताए ।

‘सर्वोच्च अदालतले गरेको निर्णय मैले मान्नुपर्छ । मन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदन पनि मैले मान्नुपर्छ । कार्यकारी परिषदले गरेको निर्णय बाहिर जान मिल्दैन, उनले भने–विद्यार्थीहरु अदालतको निर्णय विरुद्ध आन्दोलन गर्छन् ।

कार्यकारी परिषद्को निर्णय, अदालतको फैसला विरुद्ध आन्दोलन गरेर त्यस्ता माग पूरा गर्न सकिँदैन । केही विद्यार्थीका कारण तीसौं हजार विद्यार्थीको भविष्य डामाडोल हुँन दिँदैनौं ।’ सोमबारको परीक्षा निकै कठिनता पुर्वक सञ्चालन गरेको उनले सुनाए ।

कमेन्टहरु
Loading...