प्रेस युनियनद्वारा मुख्यमन्त्रीको निन्दा, सत्ता पक्षसँग सोधेर आन्दोलन हुदैन

पोखरा, ४ चैत / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारलाई बेवास्ता गरेको भन्दै नेपाल प्रेस युनियन कास्कीले सो घटनाको निन्दा गरेको छ ।

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाबारे मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन पुगेका पत्रकारलाई बेवास्ता गरिनु दुःखद विषय भएको उल्लेख छ ।

आफ्ना गतिविधि प्रचार गर्दा सैयौं पत्रकार चाहिने तर पत्रकारका विषयमा जानकारी लिन भने केही संख्यामा मात्रै बोलाएर अन्य पत्रकारहरुको भावनामाथि खेलवाड गरी प्रेसप्रति अनुदार भएको ठहर छ ।

विज्ञप्तिमार्फत् आन्दोलनमा होमिएपछि र आन्दोलनको नेतृत्व गरेपछि कसरी आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनु पर्छ त्यसतर्फ केन्द्रीत बन्न नेपाल पत्रकार महासंघको नेतृत्वलाई आग्रह गरिएको छ ।

सत्ता पक्षसँग सोधेर, सल्लाहा लिएर आन्दोदन गर्दाको परिणाम समग्र पत्रकारको हितमा हुनै सक्दैन विज्ञप्तिमा भनिएको छ – हामी अर्जुन गिरीको रिहाई चाहन्छौ, पत्रकारको मनोबल उच्च बनाउन चाहन्छौं र स्वतन्त्र प्रेसको रक्षा गर्न चाहन्छौं । विज्ञप्तिमा मनोबल उच्च पारेर निरन्तर आन्दोलनमा उत्रन समेत अपिल गरिएको छ ।

पत्रकारलाई बेवास्ता गरिएको घटनाप्रति गम्भिर नबने थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।

कमेन्टहरु
Loading...