प्रेस सेन्टरको प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभुवन पौडेल

पोखरा, ४ असोज /प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित भएका छन् । ४ नम्बर प्रदेश सम्मेलन आयोजक समितिको आइतबार पोखरामा सम्पन्न एकता सम्मेलनले पौडेलको अध्यक्षतामा २७ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, समावेशी उपाध्यक्ष रामबहादुर घले, सचिव अर्जुन काफ्ले, सहसचिव मुरारी शर्मा र सन्तोष गौतम (खुल्ला), प्रितम भुजेल (जनजाति), कमला भुजेल (महिला), नारायण विश्वकर्मा (दलित) र कोषाध्यक्ष राधिका कँडेल निर्वाचित भएका छन् । प्रदेश समितिमा ४ नम्बर प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु पदेन सदस्य छन् ।

सम्मेलनले असोज १३ र १४ गते काठमाडौंमा हुने प्रेस सेन्टर नेपालको को राष्ट्रिय सम्मेलनका लागि २७ जना केन्द्रीय प्रतिनिधि पनि निर्वाचित गरेको छ । सम्मेलनमा मुस्ताङ अध्यक्ष चन्द्रश्वर बस्ताकोटी, म्याग्दी अध्यक्ष कमल खत्री, बागलुङ अध्यक्ष राम थापा ‘अविरल’, पर्वत अध्यक्ष प्रनिश गिरी, कास्की अध्यक्ष विभु भुसाल, स्याङ्जा अध्यक्ष अर्जुन काफ्ले, लमजुङ अध्यक्ष रुद्र ढकाल, गोरखा अध्यक्ष गुणराज रोक्का, तनहुँ अध्यक्ष सानेबहादुर नेपाली, नवलपुर अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीले रिपोर्टिङ गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य डिलाराम आचार्यले नक्कली राष्ट्रवादले मुलुकलाई विखण्डनको दिशामा लैजाने बताए । ‘केपी ओली, कमल थापा र मोहनविक्रमहरुको राष्ट्रवाद नक्कली हो,’ उनले भने, ‘मधेश भारतले लैजान लागेको हौवा पिटेर टुक्राउन खोजिदै छ ।’ आचार्यले मधेशलाई सहमतिमा ल्याउनु नै सक्कली राष्ट्रवाद भएको विचार राखे ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्माले सूचनामूलक पत्रकारिताभन्दा खोजमूलक पत्रकारितामा जोड दिनुपर्ने बताए । उनले अहिले व्यवसायिक पत्रकारिता गरिरहेको भन्नेहरुले नै चर्को मिसन पत्रकारिता गरेको उल्लेख गर्दै क्रान्तिकारी पत्रकारले दुबैलाई समायोजन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । नवनिर्वाचित अध्यक्ष त्रिभुवन पौडेलले श्रमजीवि पत्रकारको पक्षमा प्रेस सेन्टरको प्रदेश समिति सक्रिय रुपमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्मेलनमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ (करण), प्रेस स्वतन्त्रता सेनानीद्वय नारायण भट्टराई र कुसुमकेशव पराजुली, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश इन्चार्ज लोकप्रसाद बञ्जराले बोलेका थिए । सम्मेलनको बन्दशत्रमा पारसमणि पौडेल, लोकप्रसाद बञ्जरा, सन्तोष पौडेल र विश्वास शर्माको अध्यक्ष मण्डलले प्रदेश समितिको निर्वाचन गराएको थियो । सम्मेलनको सञ्चालन गोमा घिमिरेले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...