प्रदेश नम्बर ४ मा ४ सदस्यीय मन्त्रिपरिषद बन्यो (को को भ​ए मन्त्री हेर्नोस्)

पोखरा,  ४ फागुन /प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार​ पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन् । मुख्यमन्त्री गुरुङले आजै पदभार ग्रहण गरेका छन् । यसैबिच, प्रदेश नम्बर ४ मा शुक्रबार​​ एकै दिन दुई पटक मन्त्रिपरिषद विस्तार भएको छ ।मूख्यमन्त्री गुरुङले शुक्रबार​ दिउसो गोरखाबाट निर्वाचित एमालेका रामशरण बस्नेतलाई पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री बनाएका थिए भने शुक्रबारै साँझ ६ बजे माओवादी केन्द्रबाट २ जना मन्त्रीले पनि सपथ लिएका छन् ।

तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका हुन् ।यो संगै प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद ४ सदस्यीय भएको छ । यस्तै, प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश नम्बर ४ मा मूख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्र​लाई दिने भागबन्डा गरिएको थियो ।उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ ।उपसभामुखका लागि एमालेकी सिर्जना शर्माको नाम चर्चामा छ ।

यसैबीच, प्रदेश नम्बर ४ को मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरी दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउने निर्णय गरेको छ ।बैठकले २ वर्ष भित्र सबै गाउँमा पिउने पानी र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने स्तरीय सडक निर्माण गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।त्यस्तै ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना गर्ने पनि जनाइएको   छ । बैठकले ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने पनि निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...