पोखराको मुख्य पानीको मुहान मर्दीखोला शुद्धिकरण परियोजना सुरु, ६ ठाउँमा  शवदहन गृह

पोखरा, १३ चैत / पोखराको मुख्य पानीको स्रोत मर्दीखोला शुद्धिकरण परियोजना सुरु भएको छ । परियोजनाअन्तर्गत पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल,खोराकोमुख, रिभान मा महिला पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बनाइने भएको छ ।
ती संरचना निर्माणपछि पोखरा आउने पानीमा मुहानमा लास जलाइने छैन भने साबुन पानी, लेदो र फोहरको पनि सोझै पानीमा मिसिने छैन ।  पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र  नेपाल खानेपानी संस्थानको सहकार्यमा यो परियोजना सुरु भएको हो । परियोजनाका लागि करिब ९० लाख रुपैयाँ विनियोजन गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । आउँदो असार मसान्तसम्म परियोजना सम्पन्न हुने उहाँको अनुमान रहेको छ ।
संघले सामाजिक गतिविधीलाई प्रदान गर्ने सहयोग रकम खानेपानी शुद्धिकरणमा खर्चने निर्णय गरेको उहाँले बताउनुभयो । खानेपानी शुद्धिकरण परियोजनाले त्यस क्षेत्रका जनताको तत्कालको आवश्यकता परिपूर्ति तथा जनचेतना अभियानलाई प्राथमिकता दिइएको उहाँले जनाउनुभयो । शुद्धिकरण र जनचेतना अभियान दीर्घकालीन हुने पनि उहाँले प्रष्ट पार्नुभयो ।
उहाँका  अनुसार संघले सो परियोजनालाई प्राथमिकता दिँदै संघका कार्यसमिति सदस्य यदुनाथ अधिकारीलाई संयोजक नै तोकेर काम अघी बढाएको हो । अधिकारी पानीको मुहान क्षेत्रमा पर्ने धम्पुस गाउँका बासिन्दा हुनुहुन्छ ।  सो क्षेत्रका ६ ठाउँमा बन्ने शौचालय, कपडा धुने ठाउँ, शव दहन गृहको बिस्तृत परियोजना रिपोर्ट ( डिपिआर) र डिजाइन तयार तथा निर्माणमा सक्रिया अधिकारीका अनुसार निर्माण कार्य हुने सबै ठाउँमा स्थानीय सरोकार समिति समेत गठन  गरिएको छ ।
अधिकारीका अनुसार ६ वटा सरोकार समितिमध्ये सैदीघट्टमा टेकबहादुर श्रेष्ठ, रिभानमा जुमबहादुर गुरुङ, लुम्रेमा कृष्ण दवाडी, घलेलमा गुप्तबहादुर गुरुङ, खोराको मुखमा डण्डपाणि चापागाईँ र सिदिङमा यमबहादुर तामाङ सदस्य रहनु भएको छ । सरोकार समितिलाई आवश्यकता अनुसार सदस्य मनोनयन गर्ने अधिकार समेत प्रदान गरिएको समितिका सह संयोजक तथा संघका कार्यसमिति सदस्य कमल बस्नेतले जनाउनुभयो ।
परियोजनाको अनुगमन पोखरा लेखनाथ महानगरपालिकाले गर्नेछ । महानगरपालिकाका सिनियर इञ्जिनियर सारदामोहन काफ्लेका अनुसार स्थानीय सरोकार समितिहरुले गुणस्तर कायम गर्दै तोकिएको डिजाइनमा निर्माण सम्पन्न गर्नेछन् । समुदायलाई परिचालन र जनचेतना अभिवृद्धिको लागि गर्नको निम्ति फरक ठाउँको कामको जिम्मेवारी त्यही ठाउँका जनतालाई दिइएको उहाँले बताउनुभयो ।
जापानी सहयोग नियोग ( जाइका ) ले करीब ४ अर्व ५२ लाखको सहयोगमा पोखराको खानेपानी परियोजना सुदृढिकरण परियोजना सुरु हुँदै गर्दा यो शुद्धिकरण अभियान सुरु भएको हो । जाइकाको सहयोगमा सुरु हुने परियोजनाले समेत पोखराबाट करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याउने भएपछि मुहानभन्दामाथिको क्षेत्रमा शुद्धिकरण अभियान चलाइएको हो ।  पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल,खोराकोमुख, रिभानलगायतका गाउँहरु छन् ।
खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धिकरणको औपचारिकता पूरा गर्ने गरेको छ । पानी शुद्धिकरणको यो सामान्य प्रक्रियाले बर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने समस्या समाधान हुन सक्दैन ।  ‘दुःखका साथ भन्नुपर्छ, हामीकहाँ पानी शुद्धिकरणको अर्को विकल्प छैन’, खानेपानी संस्थानका पोखराका निमित्त कार्यालय प्रमुख दीनेश्वरप्रसाद यादवले भन्नुभयो,‘ बर्षायाममा धारामा धमिलो पानी आउने समस्या निराकरण गर्ने हामी असमर्थ छौँ ।’
अहिले पोखरामा मर्दीखोलाबाट दैनिक ३ करोड लिटर, पोखराको पुरानो पानी आपूर्तिस्थल बालधाराबाट ४ लाख लिटर, भोटीखोलाबाट साढे २ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । यादवका अनुसार अहिले पोखरामा दैनिक साढे ४ करोेड लिटर पानीको माग छ । ४ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको बिस्तार हुन नसक्दा त्यो पानी विन्ध्यवासिनीमा रहेको ट्याङ्कीबाटै खेर जाने गरेको उहाँले स्वीकार्नुभयो । अहिले पोखरामा दैनिक करीब साढे ३ करोड लिटर पानी बितरण हुँदै आएको छ । मर्दीबाट चार भागको एक भाग मात्र पानी पोखरा ल्याइएकोले पोखरालाई पानीको स्रोतको भने अभाव नभएको उहाँले बताउनुभयो ।
 पोखरामा १९७७ सालदेखि नै योजनावद्ध रुपले खानेपानी बितरणको थालनी भएको हो । पोखराका बडाहाकिम  बवर समसेरले बाल्यकालमै बितेका आफ्ना छोरा  बालसमसेरको सम्झनामा सराङकोटको पुछारमा रहेको मुलको पानी पोखराको विभिन्न ठाउँमा बितरण गरेका थिए ।  पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इञ्चको पाइमा पानी ल्याएर सुरु भएको हो । जाइकाकै १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा  १६ इञ्चको सट्टामा २० इञ्चको पाइप हाली विन्ध्यवासिनीसम्म पानी ल्याए पनि बितरण पाइप नहुँदा अहिले पनि पानी खेर गई रहेको छ ।
बिस्तारित पोखरा उपमहानगरपालिकाको क्षेत्रफल २२५.६९ वर्गकिलोमिटर छ भने सन् २०११ को केन्द्रीय तथ्याङ्क विभागको जनगणना अनुरुप ३,१३,८४१ जनसंख्या एवं ८२,२७६ घरधुरी रहेका छन् । पोखरा उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सारदामोहन काफ्लेका अनुसार आपूर्ति व्यवस सुदृढ नहुँदा  नगरका सबै वडामा बस्ने बासिन्दाले सहज खानेपानी पाएका छैनन् ।
कमेन्टहरु
Loading...