पोखराको खानेपानीका लागि जापानले साढे चार अर्ब अनुदान दिने

पोखरा, ४ फागुन /जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि करिब ४ अर्व ५३ करोड ९० लाख रुपैयाँ आर्थिक सहायता गर्ने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि उपलब्ध गराउने करिब ४ अर्ब ५३ करोड ९० लाख रुपैया अनुदान सहायतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

अर्थ मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदुत मासासी ओगावाको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाईका नेपालका प्रमुख जुन साकुमा बीच सो सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

पोखरामा देखिएको खानेपानी समस्या समाधानका लागि जापान सरकारले आर्थिक सहायता उपलब्ध गराएको अर्थ सचिव सुवेदीले जानकारी दिए। उनले अब पोखराको खानेपानी आपूतिको समस्या कम हुँदै जाने विश्वास पनि व्यक्त गरे।

परियोजनाबाट पानीको चुहावटको अनुपात घटनुका साथै खानेपानीको आपूर्तिसँग सम्बन्धित समस्याहरु कम हुँदै जाने समझादारी पत्रमा उल्लेख गरिएको छ । परियोजना २०७८ सालसम्म संचालन हुने र त्यसले पोखरा बासीको जीवनस्तरमा सुधार ल्याउनुका साथै त्यहाँको पर्यटन विकासको क्षेत्रमा उल्लेख्य सहयोग पुग्ने पनि विश्वास गरिएको छ ।

कमेन्टहरु
Loading...