पोखरामा अब ट्याक्सी मिटर मै चल्ने

पोखरा, २८ पुस /पोखरामा अबदेखि ट्याक्सी मिटरमा चल्ने सहमती भएको छ । शुक्रबारको बैठकमा ट्याक्सीको भाडा मिटर सिस्टममा लिनेदिने सहमति भएको हो ।

ट्याक्सी ब्यवसायी, अन्य यातायात ब्यवसायीहरु र प्रहरी प्रशासनबीच भएको बैठकले पोखराका सबै ट्याक्सी मिटरमा चलाउने सहमति भएको छ । मिटरमा नचलेका ट्याक्सी चालकलाई प्रहरीले पक्रेपछि चालक र व्यवसायीले बुधबारदेखि पोखराको सार्वजनिक यातायात ठप्प पारेका थिए ।

प्रहरीले पनि उपभोक्ता ठगी गर्न नपाउने भनि जुनसुकै हालतमा मिटर ट्याक्सी चलाउनुपर्ने अडान राखेको थियो । ‘उपभोक्ता ठग्ने अधिकार कसैलाई पनि छैन । कुनैपनि हालतमा मिटर ट्याक्सी चलाउनुपर्छ, कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले भने–कानुनको पालना गर्ने दायित्व सबैको हो ।

नियम बनेपछि कार्यान्वयन गर्नैपर्छ ।’ ब्यवसायीले चाहीँ भाडा समायोजन नभए मर्का पर्ने बताएका थिए । भाडा समायोजनका लागि पनि केन्द्रमा सिफारिस गरिने कास्की प्रशासनले जनाएको छ । सहमतिपछि पोखराका ट्याक्सी ब्यवसायीहरु काममा फर्किएका छन् ।

कमेन्टहरु
Loading...