पोखरा महानगरपालिकालाई स्मार्टसिटि बनाउन डेनमार्कको तर्फबाट यस्तो सुझाब

पोखरा, ४ बैशाख /पोखरा लेखनाथ महानगरपालिकाको निमन्त्रणामा डेनमार्कबाट आएको दुई सदस्यीय बिज्ञ टोलीले पोखरा लेखनाथलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सुझाबको रुपमा आफ्नो गुरुयोजना बुझाएको छ ।

डेनमार्कको कोगे नगरपालिकाका मास्टर प्लानर, प्रविधि तथा वातावरण निर्देशक टोर्बेन नोह्र तथा ट्राइएङ्ग्लेन नामक २००९ मा स्थापना भएको नाफारहित संस्थाका अध्यक्ष क्रिश्टियन क्रुज सम्मिलित टोलीले ७ दिन सम्म पोखरामा रहेर थुप्रै व्यक्ति तथा संघ संगठनलाई भेटेर गुरुयोजना तयार पारेको थियो ।

महानगरपालिकाका मेयर मानबहादुर जिसी, महानगरका इन्जिनियर महेन्द्र गोदार तथा पोखरा र लेखनाथका उद्योग बार्णिज्य संघका प्रतिनिधिहरुसँग पनि टोलीले भेटवार्ता गरेको थियो । टोलीले महानगरपालिकाका प्राविधिक र पोखराका पर्यटन व्यवसायीहरुसँग पनि भेटेको थियो।

टोर्बेनले पोखराको अव्यवस्थित विकासप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब योजनाबद्ध विकासतिर नलागे ढिलो हुने बताएका थिए । टोलीले दिएको गुरुयोजनामा पोखरा र लेखनाथका लागि छुट्टाछुट्टै प्राथमिकताका क्षेत्रहरू बाडेको छ । त्यस्तै योजनामा केन्द्रीय सरकारले पोखरा लेखनाथको पर्यटनको अथाह सम्भाव्यतालाई मध्यनजर गर्दै यस क्षेत्रको विकासलाई प्राथमिकता दिन पनि जोड दिएको छ । पर्यटनको प्रवर्द्धनका लागि बन्दै गरेको क्षेत्रीय विमानस्थलको महत्वलाई उजागर गर्दै काठमाडौं र पोखरालाई रेलमार्ग मार्फत पनि सकेसम्म छिटो जोड्न टोलीको सुझाव रहेको छ ।

पोखराको लेकसाईड क्षेत्रमा विस्तार भएको अव्यवस्थित बस्तीप्रति गहिरो सरोकार देखाउदै रिपोर्टमा स्थानीय प्रशासनलाई बलियो ढङ्गले पेश आउन सल्लाह दिइएको छ । गैरकानुनी तवरले निर्माण गरिएका घरहरु भत्काउन तथा अवैध रुपमा हडपिएका सार्वजनिक जग्गा फिर्ता लिन स्थानीय निकायलाई कठोर निर्णय लिन पनि पछि नहट्न टोलीले सुझाएको छ । सुकुम्बासी समस्या समाधानका लागि एकीकृत सामाजिक वस्तीको अवधारणा अघि सार्दै टोलीले वातावरणीय समस्या समाधानका उपायहरु पनि उल्लेख गरेको छ ।

बढ्दो प्रदुषण नियन्त्रणका लागि इन्सिनेटरमा फोहोर जलाएर बिजुली उत्पादन गर्न तथा प्लास्टिकजन्य सामानलाई पुन प्रयोगमा ल्याउन प्रविधिको प्रयोग गर्न पनि टोलीले सुझाव दिएको छ । फेवा तालमा सिधै ढल मिसाइएकोमा तालमा प्रवेश गर्नु पुर्व पानीलाई प्रशोधन गर्नै पर्ने नियम बनाउनु पर्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यस्तै लेकसाइड क्षेत्रमा निर्माण गरिएको फुट ट्र्याकलाई छिटो सक्न, ताल वरिपरिको ६५ मिटरको मापदण्ड सबैले सम्मान गर्न र ताल वरिपरि गैरकानुनी तवरले संचालित होटेलहरुलाई वैधानिक तवरले संचालन गर्न पनि सुझाएको छ । लेखनाथको हकमा ताल वरिपरि १०० मिटरको मापदण्ड सबैले सम्मान गर्न, सात ताल वरिपरि ट्रेकिङ रुटको विकास गर्न र प्रिन्स चार्ल्स रुटलाई फेरि प्रयोगमा ल्याउन सल्लाह दिइएको छ। अर्गा्निक खेती र साहसिक खेल पर्यटनलाई पनि यस क्षेत्रमा विकास गर्न सकिने टोलीको निष्कर्ष छ ।

पुर्वाधार विकास अन्तर्गत निर्माणाधीन क्षेत्रीय विमानस्थल जोड्न छुट्टै बाटोको निर्माण तथा हालका राजमार्गलाई चार लेनमा विस्तार गर्न सुझाव दिइएको छ। त्यस्तै पोखरामा साइकललाई विशेष प्राथमिकता दिएर साइकल लेनको विकास तथा लेकसाइडलाई नो भेइकल जोनका रुपमै अघि बढाउन टोलीले जोड दिएको छ।

गुरुयोजना कार्यान्वयनका लागि मेयरको उल्लेख्य योगदान रहने बताउदै सकेसम्म छिटो बिज्ञ तथा प्राविधिकको टोलीको निर्माण गर्न टोलीको सुझाव छ । दुरदर्शी र कुशल नेतृत्व अबको आवश्यकता हो भन्ने कुरा उल्लेख गर्दै रिपोर्टमा पोखरा र लेखनाथको सन्तुलित विकासमा पनि विशेष जोड दिइएको छ । पोखराको मात्र विकास हुँदा जनसंख्या केन्द्रीकृत भएर काठमाडौँ जस्तै अव्यवस्थित बन्न सक्ने चिन्ता पनि टोर्बेनले ब्यक्त गरेका थिए ।

डेनमार्कले दिने सहयोगको बारेमा जानकारी दिदै टोलीले महानगरले अनुरोध गरेमा निशुल्क रुपमा प्राबिधिक, बिज्ञ तथा सहयोगीहरु उपलब्ध गराउने बताएको छ । टोलीले ट्राइएङ्ग्लेन जस्ता संस्थाहरुबाट निरन्तर सहयोग गर्ने आश्वासन दिएको छ । टोलीले मेयरलाई डेनमार्क भ्रमणको निम्तो पनि दिएको छ । महानगरले अनुरोध गरेमा भ्रमणको बेलामा थप सहयोग हुनसक्ने टोलीले बताएको छ । त्यस्तै टोलीले योजनाको कार्यान्वयनको अवस्था बुझ्न २०१९ मा फलो अप गर्ने पनि उल्लेख गरेको छ । योजनाबद्ध विकास नगरे ढिलो हुने कुरालाई मध्यनजर गर्दै टोलीले अहिले नै बिज्ञ टोलीको निर्माण, अहिले नै गुरुयोजनाको निर्माण तथा त्यसको कार्यान्वयन पनि अहिले देखि नै शुरु गर्न पनि विशेष जोड दिएको छ ।

टोलीमा संयोजनकारी भूमिका खेलेका नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी संघठन प्रदेश नम्बर ४ का अध्यक्ष गोबिन्दराज पहारीले डेनमार्कको मास्टर प्लानर स्वयं उपस्थित भइ प्रस्तुत गरेको सुझाबलाई महानगरले गहन रुपमा लिनुपर्ने बताउदै आवश्यक सहयोगको लागी महानगरको तर्फबाट उपयुक्त पहलकदमी हुनुपर्ने बताए ।

पोखरा लेखनाथ महानगरका इन्जिनियर महेन्द्र गोदारले आफुले टोलीलाई पोखरा लेखनाथका विभिन्न ठाउँहारको भ्रमण गराएको बताउदै टोलीले भ्रमण पश्चात तयार पारेको गुरुयोजना महानगरमा प्रस्तुत गरेको बताए । टोलीले महानगरलाई योजना निर्माण तथा विकासका कार्यमा निशुल्क रुपमा बिज्ञ, प्राबिधिक तथा सहयोगी प्रदान गर्न खोजेको गोदारले उल्लेख गरे । टोलीको आगामी कार्यलाई हेरेर महानगरले उपयुक्त कदम चाल्ने इन्जिनियर गोदारले बताए ।

पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जीसीले महानगरको निमन्त्रणामा दुई सदस्यीय टोली पोखरा आएको जानकारी दिए । टोलीमा डेनमार्कवाट बिज्ञ टोर्बेन नोह्र र लामोसमय देखि नेपाल रहदै आएका डेनमार्कका नागरिक क्रिश्टियन क्रुज रहेको उल्लेख गर्दै उनीहरुले सुझाबसहितको गुरुयोजना महानगरमा प्रस्तुत गरेको बताए । डेनमार्कको बिकासको स्थिति र पोखराको बस्तुस्थितिमा धेरै अन्तर रहेको बताउदै मेयर जीसीले पोखराको लागी यहिकै इन्जीनियर उपयुक्त हुने तर डेनमार्कको तर्फवाट सुझाब तथा साइड सपोर्ट भने लिन सकिने उल्लेख गरे ।

मेयर जीसीले आफु उनीहरुले बोलाउदैमा डेनमार्क नजाने भन्दै डेनमार्कको तर्फवाट त्यहाको मेयर आएर निमन्त्रणा गरे आफु भ्रमणमा आउने जानकारी टोलीलाई गराएको बताए ।

कमेन्टहरु
Loading...