पोखरा महानगरमा १९ हजार परिवारलाई राहत वितरण गर्दै

पोखरा, २५ चैत/ कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो ।

गत चैत १९ गते बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी राहत वितरण गर्न सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयहरु मार्फत् राहत वितरणको व्यवस्था मिलाइएको जिसीले जानकारी दिए ।

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ । फूल प्याकेजमा २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी रातो दाल, एक केजी कालो दाल, केरा र चना एक/एक केजी रहेको छ भने आधा प्याकेजमा साढे १२ केजी चामल, १ केजी नुन, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी गरि वितरण गरेको वडा नम्बर ७ वडा अध्यक्ष रामचन्द्र बरालले जानकारी दिए ।

११ हजार परिवारलाई फूल र ८ हजार ४ सय ४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ । राहत वितरणको लागि फूल र आधा प्याकेजको छुट्टा छुट्टै कुपन बनाएर वडामा पठाइएको छ । लाभग्राही छनोट मापदण्ड अनुसार कुनैपनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका, (वृद्ध, असाहय, अशक्त, गर्भवती महिला, दीर्घरोगी, टुहुरा बालबालिका र फरक क्षमता भएका व्यक्ति) लाभग्राहीको रुपमा छनोट गरिएको छ ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटी/चन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रुपमा छनोट गरिने मापदण्ड महानगरले बनाएको छ ।

कमेन्टहरु
Loading...