प्लाष्टिक झोला मुक्त अभियानलाई पोउवा संघले सघाउने

पोखरा,६ फागुन । पोखरा उद्योग वाणिज्य संघले पोखरालाई प्लाष्टिक झोला मुक्त बनाउने पोखरा उपमहानरपालिकाको अभियानलाई सघाउने भएको छ ।
पोखरा उपमहानगरपालिकाले आउँदो वैशाख १ गते पोखरालाई प्लाष्टिक झोला मुक्त घोषणा गर्ने गरी आफ्नो अभियान अगाडि बढाएको सन्दर्भमा संघले यो अभियान सकारात्मक भएको बताएको हो । संघले बिहीबार कास्कीमा रहेका प्लाष्टिक उत्पादक कम्पनी तथा बस्तुगत संघहरुसँग आयोजना गरेको छलफल कार्यक्रमपछि उपमहानगरपालिकाको अभियानलाई सघाउने प्रतिवद्धता व्यक्त गरेको हो ।

संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा बोल्ने अधिकांश उद्योगी÷व्यवसायी तथा बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधीले उपमहानगरपालिकाको अभियान राम्रो भएको तर उपमहामनगरपालिकाले विकल्प दिनुपर्ने धारणा राखेका थिए । सहभागिको रायपछि कार्यबाहक अध्यक्ष देव क्षेत्रीले उद्योगी÷व्यवसायीका गुनासा र सुझावहरु सम्वोधन हुनुपर्ने बताउँदै पोखरालाई सुन्दर बनाउने अभियानमा संघको सदा साथ रहने वचनवद्धता व्यक्त गरे ।

उनले भने–‘प्लाष्टिकको झोलालाई बन्देज लगाउन हाम्रोतर्फबाट सकारात्मक सहयोग रहन्छ ।’ व्यवसायीको लगानीको सुरक्षामा भने उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उनको धारणा थियो । प्लाष्टिकको उपयोग कम गर्नको लागि जनचेतना बढाउनुपर्नेमा जोड दिँदै कार्यबाहक अध्यक्ष क्षेत्रीले यसको लागि सामान किन्न जाँदा आफै जृट वा कपडाको झोला बोकेर जाने बानी विकास गर्न नागरिक समाजसँग आग्रह पनि गरे ।

छलफलमा सहभागी पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उपमहानगरपालिकाले अगाडि सारेको अभियानलाई सघाउन व्यवसायीहरुसँग आग्रह गरे । यस अघी इटहरी नगरपालिकाले प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गरेको र सो सफल भएको बताउँदै उनले प्लाष्टिक झोला बिस्थापन गर्न खासै ठूलो चुनौति नभएको स्पष्ट पारे । पोखरा उपमहानगरपालिकाले यस अघी नै पोखरालाई कालो प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गरिसकेको छ ।

उपमहानरपालिकाले पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम अगाडि सारेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव प्रकाशदेव पालिखे, कोषाध्यक्ष दीलिपराज श्रेष्ठ, कार्यसमिति सदस्य सीता गुरुङ, बलराम आचार्य, अमितराज मुल्मी लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...