पोखराका पालिखेचोकका घर एक महिनाभित्रै भत्काईने

पोखरा, २८ फागुन /पोखरा लेखनाथ महानगरपालिकाको ३, ४ र ९ नम्बर वडामा पर्ने पालिखेचोकको राईट अफ वे १ महिनाभित्र क्लियर गर्ने महानगरले निर्णय गरेको छ । आईतबार बसेको कार्यपालिका बैठकले चैत महिनाभित्रै सकेसम्म सहमतिमा ल्याएर सबै घर भत्काउने निर्णय गरेको हो । पालिखेचोकका ४ वटा घर भत्काउनुपर्ने महानगरपालिकाले जनाएको छ ।

पालिखेचोक क्लियर गर्न वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलालाई संयोजक बनाएर काम अघि बढाइएको हो । ४ दशकअघि देखि मापदण्डभित्रका संरचना हटाउने प्रयास भएपनि सरोकारवालाको चासो नपुगेका कारण काम हुन सकेको थिएन । ‘घरधनीको समस्या छैन । चलनचल्ती अनुसार सुहाउने मुआब्जा दिए जग्गा दिन वहाँहरु राजी हुनुहुन्छ, संयोजक बास्तोला भन्छन्–महानगरले अभियान थालिसक्यो अव जतिसक्दो छिटो पूरा गर्ने हो ।’

उनका अनुसार २ जना घरधनी मुआब्जा लिनका लागि तयार भैसकेका छन् । ‘२ जनाले सहमति जनाईसक्नुभएको छ । बाँकी २ जनासँग पनि लगातार सम्बाद भैरहेको छ, उनी भन्छन्–सामान्य कुरामा अड्किएको छ । जसरी पनि सहमतिमा ल्याउँछौं ।’ बसन्त उदास र प्रदीपशंकर पालिखेले घरजग्गा छोड्ने सहमति दिएका छन् । बसन्तको नाममा ६०.६ बर्गमिटर र प्रदीपको नाममा ३३.८ बर्गमिटर जग्गा छ । कृष्णमान श्रेष्ठ र किशोरादेवी श्रेष्ठलाई पनि सहमतिको नजिक पु¥याईएको छ ।

कृष्णमानको नाममा ५०.४५ र किशोरादेवीको नाममा ५४.१ बर्ग मिटर जमिन छ । प्रदीपले पक्की घर बनाएका छन् भने अरु ३ जनाको कच्ची घर छ । महानगरका मेयर मानबहादुर जिसीले सकेसम्म सहमति नभए प्रक्रियामा गएर भएपनि पालिखेचोक क्लियर गर्ने बताए । ‘सहमतिमा आएका घरहरु तत्कालै हटाउँछौं । अरुलाई पनि प्रक्रियामा ल्याउने अधिकतम प्रयास हुन्छ, उनले भने–नभए प्रक्रियामा जान्छौं ।

चैतभित्रै क्लियर भैसक्छ ।’ गएको पुस पहिलो साता पालिखेचोकको चौतारो र सार्वजनिक स्थलमा बनाईएको क्लवको भवन भत्काई सकेको छ । महानगरले सहमतिमा आएकालाई मुआब्जा दिन कार्यकारी अधिकृतलाई सरकारी निकायसँग समन्वय गर्ने अधिकार दिएको छ ।

कमेन्टहरु
Loading...