पोखरामा महानगरको कार्यालयमा फ्रि वाईफाई

पोखरा, २३ जेठ/पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा काम विशेषले जाने सेवाग्राहीहरुले अब फ्रि वाईफाईको सुविधा पाउने भएका छन् । महानगरपालिकाले सेवाग्राहीहरुमा लक्षित फ्रि वाईफाई सेवा बुधबारदेखि शुरु गरेको छ ।

सेवा शुरु गर्दै महानगरका प्रमुख मान बहादुर जिसीले महानगरका विभिन्न सेवा बारे जानकारी लिन चाहने सेवाग्राहीले महानगरकै फ्रि वाईफाई प्रयोग गर्न सक्ने बताए । उनले अबका कार्यालयहरु प्रविधिमैत्री बन्नुको विकल्प नभएको भन्दै महानगरमा सेवा लिन आउँदा छुटेका तथा अपुग कतिपय कागजात प्रविधि मार्फत नै आदानप्रदान गर्न सकिने उल्लेख गरे ।

फ्रि वाईफाई सेवा शुभारम्भका अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले महानगरबाट शुरु भएको फ्रि वाईफाईको सुविधा निकट दिनमा सवै वडा कार्यालयहरुसम्म पुग्ने बताए ।

महानगरले हाल सेवाग्राहीहरुको भीडभाड धेरै रहने राजश्व र घरनक्शा काउण्टरमा फ्रि वाईफाईको सेवा शुरु गरेको हो । सेवाग्राहीले फ्रि वाईफाई प्रयोग गर्नका लागि वाईफाई खोलेर नाम सर्च गर्दा महानगर अन्डरस्कोर टु र महानगर अन्डरस्कोर थ्रि लाई कनेक्ट गर्नसक्ने आइसिटि भोलुन्टियर अशोक द्धारेले जानकारी दिए ।

कमेन्टहरु
Loading...