पोखराको मेयर, उपमेयरका लागि कांग्रेसभित्र दौडधूप

हरि पन्त
पोखरा १३ चैत्र /करिब २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको चर्चासंगै पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न चाहने हरुको संख्या करिब दुई दर्जन छ । महानगरको प्रमुख र उपप्रमुख पदका लागि चाहना गर्नेहरुमा नेपाली कांग्रेसमा आवद्ध रहि राजनीतिकरुपमा सक्रिय तथा विभिन्न पृष्ठभूमि बोकेका कांग्रेसका नेता कार्यकर्ताहरु रहेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुख पद कांग्रेसका लागि त्यति सहज देखिंदैन । त्यसैले महानगर प्रमुखका लागि पार्टीकोतर्फबाट टिकट चाहियो भन्नेहरुले पनि आफूलाई चर्चामा ल्याउन वा आगामी दिनमा अन्य पदमा बार्गेनिङ्ग गर्न सजिलो होस् भन्ने उद्देश्यले चाहना गरेको बताइन्छ । केहीले भने कांग्रेस एकजुट हुने हो भने चुनाव जित्न कठिनाइ नहुने भन्दै पार्टीैको तर्फबाट पूर्ण सहयोग पाएमा निर्वाचनका लागि तयार रहेको प्रतिक्रिया दिन थालेका छन् ।

आर्थिक दृष्टिकोणले पनि महानगरको चुनाव त्यति सहज छैन । चुनाव जित्नका लागि मोटो रकम खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण कतिपयले चुनावी प्रतिस्पर्धामा अघि बढ्न चाहेका छैनन् । पार्टीको राजनीति र विभिन्न क्षेत्रबाट प्रतिष्ठा आर्जन गरेका केही व्यक्तित्वहरुले उनीहरुका शुभचिन्तक र समर्थकले उम्मेदवार बन्नुपर्छ भन्दै दवाव दिन थालेपछि कतिपय आकांक्षीहरु आफूलाई चौतर्फी दवाव आएको भन्दै उम्मेदवारको रुपमा प्रस्तुत गरिदिन संचारकर्मी समक्ष पुग्न थालेका छन् ।

नेपाली कांग्रेस कास्कीका नेताहरु मध्ये शुक्रराज शर्मा, यज्ञबहादुर थापा, महादेव गुरुङ, खेमराज पौडेल, कृष्ण केसी, शोभियत बहादुर अधिकारी, भोला थापा, रामचन्द्र त्रिपाठी र ठाकुर कंडेल लगायतका व्यक्तित्वहरुलाई महानगरको मेयर बन्नुपर्छ भनेर उनीहरु निकटका कार्यकर्ताहरुले भनिरहेका छन् । तर कांग्रेस नेता शुक्रराजको नाम भने कास्कीको सल्यान अर्थात हालको अन्नपूर्ण गाउँपालिकाको मतदाताको रुपमा रहेकाले उनी महानगरको मेयरको उम्मेदवार बन्न चाहेपनि पाउँदैनन् । यसैगरी कास्की कांग्रेसका सभापति कृष्ण केसीको समेत महानगरको मेयरमा चर्चा चलेको छ तर उनको पनि कास्कीको मादी गाउँपालिकामा नाम छ । कालिकाको केही भूभाग महानगरमा परेपनि उनको नाम भएको क्षेत्र महानगमा नपरेकोले उनीसमेत मेयरको उम्मेदवार बन्नबाट बञ्चित हुनेछन् ।

कांग्रेसका अन्य नेताहरुमध्ये सांसद समेत रहेका यज्ञबहादुर थापालाई कतिपयले सांसद पदबाट राजीनामा दिएर मेयर बन्न जोड गरिरहेका छन् । तर उनले मेयर जित्न सहज नभएको भन्दै पन्छिएको बताइन्छ । अर्का नेता शोभियत अधिकारीको नाम समेत मेयरको उम्मेदवारको लागि चर्चामा छ । कास्की क्षेत्र नं. ३ बाट संविधानसभा निर्वाचनमा नेकपा एमालेका रविन्द्र अधिकारीसंग पराजित उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटको रहेको र हाल अन्य कुनै जिम्मेवारीमा नरहेकाले मेयरको उम्मेदवार बनाउनु पर्ने उनका समर्थकको चाहना छ । तर स्वयं शोभियत भने निर्वाचनका लागि तयार भएका छैनन् ।
यसैगरी अर्का नेता खेमराज पौडेललाई मेयरको उम्मेदवार बनाउन केहीले चाहना गरेका छन् । पार्टी सभापति देउवाले केही दिनअघि पोखरामा पौडेललाई भेट्दा पोखराको मेयरमा चुनाव लड्ने कि ? भनि सोधेको तर पौडेलले अब आफू त्यो पदका लागि तयार नभएको भन्दै देउवालाई जवाफ दिएको चर्चा कांग्रेसवृत्तमा छ ।  अर्का नेता महादेव गुरुङको पनि मेयरको उम्मेदवारको रुपमा कतिपयले चर्चा गरेका छन् । उनी पनि यसअघिको संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नं. ४ बाट पराजित भएका हुन् । नेकपा एमालेकी सीता गिरीसंग पराजित गुरुङको नाम भने पोखरा–२ को मतदाता नामावलीमा रहेको छ ।

यसैगरी तत्कालिन पोखरा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित मेयर भोला थापालाई कतिपयले उम्मेदवार बन्न आग्रह गरेपनि उनी कांग्रेस उम्मेदवारलाई जिताउन सहयोगी भूमिका खेल्ने तर आफू उम्मेदवार नबन्ने भन्दै पन्छिएका छन् । कांग्रेस नेता रामचन्द्र त्रिपाठी र ठाकुर कंडेलको चर्चा पनि मेयर पदको उम्मेदवारका लागि चलिरहेको छ । त्रिपाठीको घर हेमजा र कंडेलको लेखनाथमा पर्दछ । त्रिपाठी कांग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेको र पार्टीको जिल्ला सभापतिको समेत उम्मेदवार बनेका थिए । कंडेल पनि पार्टीका पुराना नेता हुन् ।

उल्लेखित नेताहरु बाहेक त्यसपछिको पुस्ताका कांग्रेसका युवाहरु पनि यतिबेला महानगरको मेयर पदको उम्मेदवार बन्न दौडधूप गरिरहेका छन् । जसमध्ये विरेन्द्रनारायण विजुक्छे, ऋषिराम काफ्ले, नन्दप्रसाद तिवारी, रामजी कुँवर, नरेशशंकर पालिखे, सुवास कोइराला लगायत छन् । कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहेका नन्दप्रसाद तिवारीले केही साता अघि पत्रकार सम्मेलन नै गरेर कांग्रेसबाट मेयरको उम्मेदवार आफू नै बन्नुपर्ने दावी गरेका थिए । यसबाहेक पार्टीको क्षेत्रीय सभापति भएर काम गरेका महाधिवेशन प्रतिनिधि विरेन्द्र नारायण विजेक्छे पनि मेयरका उम्मेदवार बन्ने दौडमा छन् ।

पोखरा उपमहानगरपालिकामा निर्वाचित वडा अध्यक्ष र नगर संयन्त्रमा रहेर काम गरेका कारण मात्र नभएर पार्टीमा निरन्तर सक्रिय रहेकाले पनि आफूले नै टिकट पाउनुपर्ने विजुक्छेको दावी छ । यसैगरी नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य पार्टीका महाधिवेशन प्रतिनिधि ऋषिराम काप्mले पनि आफू उम्मेदवार बन्न योग्य रहेको भन्दै लविङमा उत्रिएका छन्। २ पटकसम्म पार्टीको महाधिवेशन प्रतिनिधि भएकोले मात्र नभइ तरुण दलको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य रहँदा सबै ठाउँमा आप्mनो सम्पर्क र प्रभाव रहेकाले आफू बलियो हुने काफ्लेको दावी छ ।

कांग्रेसको तर्फबाट तत्कालिन पोखराको उपमेयरमा निर्वाचित नरेशशंकर पालिखेको समेत मेयरको उम्मेदवारको रुपमा चर्चा छ । तर पालिखेले यसपटक आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेको उनी निकटका कार्यकर्ताहरु बताउछन् । पालिखेले कांग्रेसकैतर्फबाट २०५४ मा पोखराको मेयर पदमा चुनाव लडेपनि एमालेका कृष्ण थापासंग पराजित भएका थिए । नेविसंघको राजनीति गरेको कोइरालाले युवाहरुको तर्फबाट आफू मेयरको उम्मेदवार बन्ने दावी गरेका छन् ।

यता राजनीतिक पृष्ठभूमि बाहेक व्यवसायिक पृष्ठभूमिमा देखिएका कांग्रेसका अन्य नेताहरु पनि मेयरका लागि आकांक्षी छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय अशोक पालिखे र विन्दु थापा तथा व्यवसायी ऋषि सापकोटा र वजिरमान श्रेष्ठले पनि महानगरको मेयरको चर्चामा आफूलाई उभ्याएका छन् ।

मुल्मीले आफूलाई पार्टीका सबै नेता कार्यकर्ताले निर्विकल्पका रुपमा प्रस्तुत गरेमात्र आफू उम्मेदवार बन्ने प्रतिक्रिया आफू निकटकालाई दिएका छन् । उनी अघिल्लो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासदको उम्मेदवार समेत थिए । यसैगरी अर्का आकांक्षी पालिखे पोउवासंघको पूर्व अध्यक्षमात्र नभएर नेपाली कांग्रेस कास्कीको पूर्व कोषाध्यक्ष पनि हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष समेत भइसहेका छन् । राजनीतिक पृष्ठभूमि बाहेक पालिखेले शिक्षा र व्यापारिक क्षेत्रमा पनि सफलता पाइरहेका छन् । उनले कांग्रेसभित्र घात–प्रतिघातको अवस्था नहुने हो भने मेयर पदमा विजयी हुन सकिने भनाइ आफू निकटकालाई बताउने गरेका छन् ।

अर्का आकांक्षी विन्दुकुमार थापा विगतमा कांग्रेसको मूल प्रवाहमा सक्रिय नभएपनि पछिल्लो केही वर्ष भने कांग्रेसको लागि सहयोग गर्दै आएका छन् । अहिले नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरमा ब्राम्हण क्षेत्रीको जनसंख्या धेरै भएकाले र आफूले व्यवसायिक क्षेत्रमा प्राप्त गरेको सफलताका कारण आफूलाई चुनावमा जान सहज हुने दावी थापाको रहेको बताइन्छ ।

व्यवसायिक पृष्ठभूमिका ऋषि सापकोटा पनि उम्मेदवारका लागि दौडधूप गरिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पराजित भएका उनी नेपाली कांग्रेस कास्कीको पूर्व कोषाध्यक्ष हुन् । विभिन्न संघ–संस्थामा उनको संलग्नता रहँदै आएको छ । नेपाली कांग्रेसका पोखरा नगर सभापति बजिरमान श्रेष्ठ पनि आफू उम्मेदवार बन्न पाउनुपर्ने पक्षमा छन् । श्रेष्ठको परिवारसंग कांग्रेसको राजनीतिक इतिहास जोडिएको छ ।

यसैगरी पोखरा लेखनाथ महानगरको मेयर तथा उपमेयर पदका लागि विभिन्न पेशामा संलग्न कांग्रेसका नेता कार्यकर्ताहरु पनि उम्मेदवार बन्ने चर्चामा छन् । जसमध्ये स्वास्थ्यकर्मी पेशाबाट नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्षसम्म बनेका कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, प्राध्यापन पेशामा संलग्न नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवराज चालिसे, कानून व्यवसायीको रुपमा स्थापित अधिवक्ता रामचन्द्र त्रिपाठी, शिक्षण पेशामा संलग्न नेपाल शिक्षक संघका उपाध्यक्ष किशोरदत्त बराल, पत्रकारिता पेशामा संलग्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली र महिला संचारकर्मी तथा तमुधि नेपालकी उपाध्यक्ष सरस्वती गुरुङ लगायतलाई संवद्ध क्षेत्र एवं कांग्रेसको मूल प्रवाहमा रहेका कार्यकर्ताहरुले समेत उम्मेदवारको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

कुँवर आफैले पनि मेयरको उम्मेदवार बन्नका लागि दौडधूप गरिरहेका छन् भने युवा नेता चालिसेले भने त्यति चासो देखाएका छैनन् । अधिवक्ता त्रिपाठीले कांग्रेसले विश्वास गरेमा आफू अघि बढ्न तयार रहेको बताएका छन् । कांग्रेसको क्षेत्रीय सभापति पदमा विगतमा पराजित भएका बराल र कास्की कांग्रेसको सचिवमा विगतमा पराजित पराजुलीलाई युवा पुस्ताले महानगरमा उम्मेदवार बन्न प्रेरित गरिरहेका छन् । पत्रकार पराजुलीले २०४६ सालको जनआन्दोलनमा करिब २ महिना जेल जीवन बिताएका थिए भने प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा लाग्दा धेरै पटक पक्राउ परि यातना भोगेका थिए ।

मेयर पदमा पुरुष उम्मेदवार बनेमा उपमेयरमा महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाका कारण पोखरा महानगरको उपमेयरमा कांग्रेसका केही महिलाहरुले चाहना गरेका छन् । जसमध्ये पार्टीका महाधिवेशन प्रतिनिधि शकुन्तला कोइराला, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महिला संघकी जिल्ला अध्यक्ष कोपिला रानाभाट, महिला संघकी जिल्ला सचिव सीता गुरुङ लगायतका छन् । कोइराला पार्टीको जिल्ला सदस्य समेत रहेर काम गरेकी छन् । पोखरामा कोइराला परिवारमा बुहारीको रुपमा भित्रिएर कांग्रेसका सबैजसो नेताहरुसंग परिचित शकुन्तलाले यसअघि पोखराको निर्वाचित नगर सदस्य भएर काम गरेकी छन् । कांग्रेसका पुराना नेता करुणानीधि कोइरालाको परिवारकी सदस्य शकुन्तला कांग्रेस नेता राजेन्द्रनीधि भाइ बुहारी समेत हुन् ।

अर्का आकांक्षी पाण्डे महिला संघ क्षेत्र नं. २ कास्कीको अध्यक्ष समेत हुन् । उनी पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न महाधिवेशनमा महासचिव पदमा पराजित भएकी थिइन । महिला संघकी अध्यक्ष रानाभाट लेखनाथ वासी भएकाले पोखरा क्षेत्रकोले मेयर पद पाउँदा लेखनाथबाट उपमेयर पाउने आशामा छन् । उनले आफूलाई उपमेयर मात्र नभइ मेयरको रुपमा समेत दावी गरेकी छन् ।

अर्की आकांक्षी सीता गुरुङ कांग्रेसको राजनीतिसंगै व्यवसायिक रुपमा समेत सक्रिय छन् । पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा १ मतलेमात्र पराजित उनी विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेको कारण आफू बलियो रहेको दावी गर्दै आएको बताइन्छ । यस बाहेक महिला संघकी पोखरा नगर सभापति माया बराल, पर्यटन व्यवसायी मन्दरा ढकाल र संचारकर्मी समेत रहेकी तमु धि नेपालकी उपाध्यक्ष सरस्वती गुरुङलगायतले समेत उपमेयरको उम्मेदवार बन्ने चाहना गरेका छन् ।

कमेन्टहरु
Loading...