पोखरा लेखनाथ महानगरको नाम हटाउने प्रस्ताव पास

पोखरा, १२ असार /पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ । पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ शब्द हटाउन सर्वसहमतिले पास गरेको हो ।

वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले सोमबार नाम फेर्ने प्रस्ताब पेस गरेका थिए भने प्रस्तावलाई वडा नम्बर ९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए ।

प्रस्ताव माथि नगर सभामा मंगलबार छलफल भएको थियो । ४० भन्दा बढि सदस्यहरुले नामका बारेमा छलफलमा भाग लिएका थिए । स्थानीय तहको नाम हेरफेर गर्न कार्यपालिकाको २/३ मतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कार्यपालिकाले पारित गरेको प्रस्ताव प्रदेश सरकारलाई पठाएपछि प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले सदर गरेपछिमात्रै नाम हेरफेर हुन्छ ।

२०७३ साल फागुनमा पोखरा उपहानगर पालिका र लेखनाथ नगरपालिकालाई मिलाएर राज्य पुनःसंरचना आयोगले पोखरा लेखनाथ महानगरपालिका बनाएको थियो । पोखरा अन्तर्राष्ट्रिय ख्याति प्राप्त नाम हुँदा हुँदै लेखनाथको फुर्काे जोडेर अनावश्यक रुपमा लामो र झन्झटिलो नाम राखिएको भन्दै सुरुदेखि नै विरोध हुँदै आएको थियो ।

त्यसै गरि नगरसभाले महानगरको आर्थिक वर्ष २०७५/७६ बजेट पारित गर्दै सभा सम्पन्न भएको छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले ६ अर्व ५३ करोडको बजेट पेस गरेका थिए ।

कमेन्टहरु
Loading...