पोखराका चार चोकहरुमा ट्राफिक लाईट जडान गरिने

पोखरा, २१ साउन / पोखराका चोकहरुमा ट्राफिक लाईट छैनन् । तर अब महानगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुदलाई लक्षित गर्दै चारवटा चोकहरुमा ट्राफिक लाईट जडान गर्ने तयारी गरेको छ ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिर भित्रमा सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सिसिटिभी जडानको योजना समेत बनाउको जानकारी दिए ।

जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने,‘ अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन सम्बन्धी काम अगाडि बढाईने छ ।’ बजार क्षेत्रभित्र ट्राफिक व्यवस्थापन समस्या बढ्दै गएको छ ।

ट्राफिक व्यवस्थापन सहज बनाउन महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो ।

जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत रहेपनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।

कमेन्टहरु
Loading...