पोखरामा पर्यटकका लागि बग्गी

पोखरा, ३० असोज/पोखरा आउने पर्यटनको लागि नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय सुरु भएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय आईतबार देखि सुरु भएको हो । बग्गी एण्ड हर्स राईडिङ प्रालिले संचालन गरेको उक्त व्यवसायको आईतबार राष्ट्रिय समाचार समितिका उपसचिव गोविन्दसिंह भण्डारीले उद्घाटन गर्दै बग्गी सयर गरेका हुन ।

उनले पोखराको पर्यटनमा थप आकषर्णको रुपमा बग्गी व्यवसाय रहेको बताउदै पशु अधिकारलाई ख्याल गर्दै राम्रोसंग पालन पोषणमा ध्यान दिन आग्रह गरे ।  पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएसंगै पोखरामा यस्तो व्यवसाय अझ बढी सम्भावना भएको उनले बताए । पोखराका पर्यटन व्यवसायि वासु त्रिपाठीले हरेक काममा चुनौती हुने हुदा नयाँ प्रोडक्ट भित्रिदा केहि समय स्थापित हुन कठिन हुने जनाए । संचालक मध्यका एक ईन्जिनियर मन बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाह्यि पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले व्यवसाय संचालन गरेको प्रालिका संचालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा बग्गी र चालक समेत झिकायर उनले यो व्यवसाय सुरु गरेका हुन। विगत एक बर्ष देखि काठमाण्डौंको वासवारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आईतबारबाट सुरु गरेका छन् ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए । पर्यटकसंगै कुनै बिबाह वा व्रतवन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका संचालक शर्माले पोखरामा सोमबार नै एउटा विबाहको लागि अग्रिम बुकिङ भएको बताए । एक दिनको बग्गी रिजर्वको लागि चालक सहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए ।

 

कमेन्टहरु
Loading...