हल्लनचोक पूर्ण सरसफाइ क्षेत्र घोषणा

पोखरा, १७ चैत/पोखरा उपत्यका बृहत् सफाइ अभियानअन्तर्गत पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकदेखि खहरेसम्म पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय ६ को आयोजना तथा खहरे आमा समूहको विशेष सक्रियतामा पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको वडा नं. ६ का जनप्रतिनिधि एवं सरसफाइ संयोजक हरिकृष्ण पहारीले बताएका छन् ।

बृहत् सफाइ अभियानको ९६ औं श्रृंखलाका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख यदुप्रसाद पन्थीले विशेष कार्यक्रमबीच उक्त घोषणा गरेका हुन् ।

घोषणा गर्नु पूर्व अभियानका संयोजक रामबहादुर पौडेलले वडा अध्यक्ष जगतबहादुर पहारीलाई नेपालकै राष्ट्रिय सम्पदा फेवाताल, ऐतिहासिक रत्नमन्दिर–हिमागृह, चौतारी, खोलानाला, मठ मन्दिर एवं बसुन्धरा–कोमागाने पार्कको उचित संरक्षणसँगै समग्र वडाको नियमित सरसफाइ गर्ने कार्यलाई विशेष प्राथमिकतामा राख्नेछु भन्ने व्यहोराको प्रतिबद्धता पत्र वाचन गराई हस्ताक्षर गराएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले सफाइ अभियानको प्रशंसा गर्दै फेवाताल संरक्षणका लागि आफू कटिबद्ध रहने वाचा गरेका थिए । यसअघि नागरिक समाज पोखराका हालै निर्वाचित संयोजक विष्णुहरि अधिकारीले राष्ट्रिय गान बजाई कार्यक्रमको शुभारम्भ गरेका थिए भने वडा अध्यक्ष जगत पहारीले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

पोखरा लेखनाथ महानगरपालिकाले डष्टबिन प्रायोजनका लागि ३० वटा थुन्से डोको र प्लाष्टिक थैलो, कमल भुजेलले थुन्से र डष्टबिन खहरे आमा समूहलाई प्रदान गरेका थिए। यस्तै, अमेरिकामा बसोबास गर्ने कमल भट्टराईले अभियानका लागि फोहोरमैला टिप्ने १० थान आधुनिक चिम्टा र ओम डेभलपमेन्ट बैंकले १० प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए ।

कार्यक्रममा खहरे आमा समूहका अध्यक्ष मैया थापाले उपस्थिति जनसमुदायलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । यसपटकको अभियानमा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, ड्यामसाइड टोल विकास संस्था, अभियान महिला समूह, माछापुच्छे« महिला क्लब, सृजनशील महिला समूह सेदीबगर, धादिङ–त्रिपुरा बाराही आमा समूह, हाम्रो क्रिउ स्काउट समूह, रेन्बो चिल्डे«न होम, उपकार बचत तथा ऋण सहकारी संस्था, पश्चिमाञ्चल होटल संघ, महिला पर्यटन व्यवसायी मञ्च, सामुदायिक सेवा केन्द्र बैदाम, मितेरी नारी समूह, सामाजिक अभियन्ताहरु केन्द्र बैदाम, मितेरी नारी समूह, सामाजिक अभियन्ताहरु जनप्रतिनिधिहरु लगायत स्थानीय टोलबासीहरुको ऐक्यबद्धता रहेको खहरे आमा समूहका सचिव पम्फा थापाले जानकारी दिइन् ।

९७ औं हप्ताको सफाइ अभियान मणिपाल शिक्षण अस्पतालसँगैको सेती–काली दोभानघाट (रिठ्ठेघाट) हुनेछ ।

कमेन्टहरु
Loading...