CAN

बृहत सफाइ अभियाना बसुन्धरा पार्कमा सरसफाइ

59

पोखरा, ८ वैशाख/पोखरामा जारी बृहत सफाइ अभियानअन्तर्गत शनिबार फेवाताल किनार बसुन्धरा पार्कमा सरसफाइ गरिएको छ । कार्यक्रममा ७ टन फोहरमैला संकलन गरिएको बृहत् सफाइ अभियानका सहसंयोजक एवं नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए ।

अभियान सफल पार्न विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै मानिसहरु बिहानै तालकिनारमा जम्मा भएका थिए । प्रमुख अतिथि प्रदेश ४ का उपसभामुख सिर्जना शर्माले उनीहरुलाई सरसफाइ एवं राष्ट्रिय भावनाको शपथ गराउँदै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, ७ का अध्यक्ष रामचन्द्र बराल, ९ का अध्यक्ष रामराज लामिछाने सहित जनप्रतिनिधिको समेत सहभागिता थियो ।

यसपटकको अभियानलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, पोखरा लेखनाथ महानगर सरसफाइ शाखा, पश्चिमाञ्चल होटल संघ, महिला पर्यटन व्यवसायी मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति एवं समितिको बैदाम केन्द्र, ड्यामसाइड टोल विकास संस्था, माछापुच्छे« महिला क्लब, अभियान महिला क्लबको सहभागिता थियो ।

यस्तै, विभिन्न आमा समूहमध्ये अन्नपूर्ण, जगदम्बा, नमूना, प्रगति, खहरे, बंगलादी, ब्राह्मण, क्षेत्री, तामाङ, दलित, नवदीप, धादिङ त्रिपुरा बाराही, तालबाराही शान्ति, भलछोपुवा आमा समूह तथा जरेबर उज्ज्वल दिदी बहिनी समूह, ढोरबाराही दिदी बहिनी, मितेरी नारी समूह, बैदाम महिला विकास समाजले सहभागिता जनाए ।

यस्तै मूलथोक टोल, अम्बोट, किंमबारी टोल विकास संस्था, लेकसाइड डोजाङ, फेवा डुंगा व्यवसायी समिति, ग्रिन लेकसाइड, फेवाताल संरक्षण आयोजना प्रमुख इ. महेन्द्र गोदार, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंक्का क्षेत्रीय प्रमुख बाबुराम ढकाल, नागरिक समाज, राष्ट्रिय सम्पदाका प्रतिनिधि, सफाइ अभियन्ता, पर्यटन व्यवसायी एवं स्थानीयबासी गरी करिब ५ सय जनाको सहभागिता थियो ।

कार्यक्रममा स्वागत मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेल, संचालन नागरिक समाज संयोजक विष्णुहरि अधिकारी र धन्यवाद ज्ञापन वडा अध्यक्ष जगतबहादुर पहारीले गरेका थिए ।

अभियान सफल पार्न पश्चिमाञ्चल होटल संघले ४ प्याकेट ग्लोब, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष एवं वडा सदस्य विष्णुबहादुर भट्टराईले २ प्याकेट ग्लोब, वडा सदस्य हरिकृष्ण पहारीले १० क्यारेट पानी, प्राडा भरतराज पहारी र उनका भाइ डा मोहन पहारीले २ प्याकेट ग्लोब दिएर सहयोग गरेका थिए । यसैबीच, १०० औं हप्ताको श्रृंखला भव्य बनाउन आगामी शनिबार महानगरका ३३ वटै वडामा एकैपटक सरसफाइ सुरु गरिने कार्यक्रम छ ।